बोर्डर आउट पोष्ट मलगंवाको उद्घाटन सम्पन्न

सर्लाही । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मलगंवाको उद्घाटन समारोह बुधबार सम्पन्न भएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्र प्रकाश गौतमले एक समारोहकाबीच बिओपी मलगंवाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिआईजी गौतमले सशस्त्र प्रहरी आफ्नो काम कर्तव्यप्रति पूर्ण जिम्मेवार रहेको र यसलाई अझै उचाइमा पुर्याउन आफू लागिपरेको बताए । स्थानीय स्तरबाट आएको सल्लाह र सुझावका आधारमा कार्यशैलीमा सुधार गर्दै संगठनलाई अझै उचाइमा पुर्याउने उनले ठोकुवा गरे ।

सिमासुरक्षा, शान्ति र विकास एकआपसमा अपरिहार्य रहेको उल्लेख गर्दै उनले सिमासुरक्षा मजबुत नभइकन शान्ति सुरक्षाको अवस्था सबल हुन नसक्ने बताए । शान्ति सुरक्षा सबल भएको खण्डमा मात्र विकास सम्भव रहेको डिआइजी गौतमले स्पष्ट पारे ।

डिआइजी गौतमले सर्लाहीको सिमानाकाको वर्तमान शान्ति सुरक्षाको अवस्थाको निरीक्षण गर्दै सशस्त्र प्रहरी कर्मचारीको आचरण तथा व्यवहार, आर्थिक पारदर्शिता, मातहतमा रहेका सशस्त्र प्रहरी कर्मचारीहरुको रेखदेख तथा नियन्त्रण, तस्करीमा शुन्य सहनशीलता, सीमा नाकाबाट हुने चोरी निकासीको नियन्त्रण तथा रोकथाम र आफूले निर्वाह गरेका जिम्मेवारी तथा काम कर्तव्यको समयमा जाहेरी गर्नुपर्ने लगायतका विषय वस्तुमा सशस्त्र प्रहरी वल नं. १० गण हेडक्वाटर सर्लाहीको मातहतमा रहेका सम्पुर्ण सशस्त्र प्रहरी ईकाइहरुको प्रमुखहरुलाई सुझाव तथा कडा निर्देशन दिए ।

डिआइजी गौतमले सिमानाकाको शान्ति सुरक्षामा खलल पुर्याउने जोसुकैलाई पनि तत्काल कारबाही गर्न सशस्त्र प्रहरी वल नं. १० गण हेडक्वाटर सर्लाहीको मातहतमा रहेका सम्पूर्ण सशस्त्र प्रहरी ईकाइहरुको प्रमुखहरुलाई कडा आदेश दिँदै उनले प्रदेश २ को सिमानाकामा सशस्त्र प्रहरीलाई चुनौती दिने जोकोहीलाई पनि छुट नदिइने बताए ।

मन्तव्यका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले सशस्त्र प्रहरी सर्लाहीको सिमानाकामा शान्ति सुरक्षा कायम राख्न निर्भीक र अडिग भएर लागिपरेको उनले बताए । ५१ किलोमिटर लामो सिमानाका भएको र बिओपिको संख्या कम भएकोले सीमाको सुरक्षामा चुनौती रहेको उनले बताए ।

मन्तव्यकै क्रममा मलगंवा नगरपालिकाका मेयर निरसल साहले ५१ किलोमीटर लामो खुला सीमाना भएकै कारण लागूऔषध प्रयोगकर्ता र मोसा चोरी सर्लाहीको मुख्य समस्या रहेको बताए । सशस्त्र प्रहरीले गरेका राम्रा कामको प्रसंशा गर्दै मलगंवा नपाबाट हुने साथ सहयोगमा कुनै कसर बाकी नराख्ने मेयर साहले उद्घोष गरे ।

सर्लाहीको ५१ किलोमिटर लामो सिमानाकाको सुरक्षाका लागि ११ वटा बिओपीहरु स्थापना भइसकेको र थप ६ वटा बिओपीहरु स्थापना हुने प्रक्रियामा रहेको छ ।

कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल, सर्लाही प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख एसपी गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसंधान जिल्ला कार्यालयका प्रमुख दिलिप सिंह, श्री भैरव दल गण पाँच कुमारी ब्यारेकका प्रमुख सेनानी सरोज राणा, मलगंवा नपाका मेयर निरसल साह, उपमेयर शान्ती मिकरानी, प्रदेश २ को आठ वटै जिल्लाका सशस्त्र प्रहरी प्रमुखहरु, जसपाका केन्द्रिय सदस्य रामकैलाश यादव, वडा नं. ९ का वडा अध्यक्ष दिपलाल महतो, समाजसेवी पचु महतो, नागरिक समाज, बुद्धिजीवि, पत्रकार र आम जनसमुदाय समेतको भब्य उपस्थिती रहेको थियो ।

उद्घाटन समारोह कार्यक्रममा स्वागत मन्तव्य सशस्त्र प्रहरी वल नं. १० गण हेडक्वाटर सर्लाहीका गणपति एसपी गंगाराम श्रेष्ठले राखेका थिए भने कार्यक्रमको उद्घोषण सशस्त्र प्रहरी इन्सपेक्टर गंगा बहादुर कार्कीले गरेका थिए ।

प्रतिक्रिया