अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै

काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मोड–सुधार गरिरहेको छ । राजमार्ग दायाँबायाँका विभिन्न स्थानमा समेत सर्भिस ट्र्याक खोल्न प्रक्रिया थालिएको छ ।

हाल धुलिखेलदेखि पाँचखालसम्म १५ किलोमिटर सडकखण्डको १३ स्थानमा मोड–सुधारको काम भइरहेको कार्यालयप्रमुख डिभिजन इन्जिनीयर सुमन योगेशले जानकारी दिए ।

उनले रु एक करोड ६० लाख बजेटमा उक्त सडकखण्डमा मोड–सुधार तथा धुलिखेलदेखि केही तल पहिरो नियन्त्रणको काम भइरहेको बताए । ‘धुलिखेल–पाँचखाल सडकखण्डमा ‘साइड डिस्ट्यान्स्’सहित मोड–सुधार भइरहेको छ, यसले दुर्घटना न्यूनीकरणमा मद्दत गर्नेछ’, योगेशले भने ।

उनका अनुसार बनेपा शहरस्थित अरनिको राजमार्ग दायाँबायाँ करीब डेढ किलोमिटर सर्भिस ट्र्याक (रिसिलिङ कालोपत्र) को प्रक्रिया अघि बढाइएको छ । सो योजनाका लागि रु ६ करोड बजेट छुट्याइएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र साँगादेखि धुलिखेलसम्म दश किलोमिटर अरनिको राजमार्गको दायाँबायाँ सर्भिस ट्र्याक निर्माणका प्रक्रिया थालिएको कार्यालयका इन्जिनीयर जयराम अधिकारीले जानकारी दिए । उनका अनुसार पाँचखाल बजारमा ५०० मिटर पक्कीसहित सर्भिस ट्र्याक खोल्ने काम भइरहेको छ ।

हाल कार्यालयले डेढ करोड बजेटमा धुलिखेल बजारको मुख्य चोक सडक सुधार गर्दै पुरानो बजारमा फुटपाथ निर्माण थालेको छ । जीर्ण बनेपा–पनौती ६ किलोमिटर पक्की गर्न संघीय सरकारले हालैमात्रै रु १६ करोड ७५ लाख बजेट थपेपछि कालोपत्रको काम सुरु भएको छ ।

पनौती नगरस्थित खोपासीदेखि बेथानचोक गाउँपालिकाको कामीडाँडासम्म करीब ३० किलोमिटर कच्ची सडकको स्तरोन्नति गरिरहेको छ । संघीय सरकारको पछिल्लो रु १५ करोड बजेटले हाल ड्रेन–रिटेनिङ वाल, कज–वे, ढलनिकस तथा ग्राभेलको काम भइरहेको कार्यालयले जनाएको छ । पनौती नगरले रु एक करोड थपको सो सडकखण्डको हाल चार हजार ५०० मिटर ग्राभेल भएको छ ।

संघीय बजेटबाटै हाल नगरकोट–गैरिबिसौना–हिउँवापाटी १० किलोमिटर र बनेपा–रविओपी–पाँचखाल १६ किलोमिटर कच्ची सडक स्तरोन्नतिको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार बनेपा–रविओपी–पाँचखालअन्तर्गत ६ किलोमिटर पक्की भइसकेको छ ।

योगेशले भने, ‘केही क्रमागत बजेटले स्तरोन्नति गर्दै ग्राभेल तथा ग्राभेलपछि पक्की गर्दै जानेछौँ ।’ उनका अनुसार बजेटको निरन्तरताले कुनै पनि योजना रोक्नुपरेको छैन । पाँचखालमा पनि तीन किमी वैकल्पिक सडक पक्की भइरहेको छ ।

स्तरोन्नति प्रस्तावित सडक एवं सम्पदा निर्माणार्थ बोलपत्र आह्वान भइसकेको योगेशले बताए । संघीय सरकारमार्फत हाल अरनिको राजमार्ग स्तरोन्नतिका लागि रु सात करोड ४० लाख, कोशीपूर्वस्थित सडक कालोपत्र गर्न रु ३३ करोड बजेट छुट्याइएको छ ।

प्रतिक्रिया