ताप्लेजुङ आगलागी : हेर्दा हेर्दै खरानी भयो

ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा भएको आगलागीबाट ५५ परिवार विस्थापित भएका छन् । मंगलबार विहान करिव ९ बजेतिर भोला पौडेलको घरमा रहेको कपडा पसलबाट आगो सल्किएको हो । पसलमा रहेको बिजुली सर्ट भएर आगो लागेको स्थानीयले जानकारी दिएका छन् । बाक्लो बस्ती रहेको सो पुरानो बजारमा एकपछि अर्को गर्दै ४९ वटा घरमा आगो लागेको हो । विहानै आगो लागेपछि स्थानीयका घरसहित घरमा रहेका सबै सामान खरानी भएका छन् । स्थानीय व्यावसायी गंगाराम गुरागाईँका अनुसार एक्कासी आगो बजारभरी फैलिएपछि घरभित्रबाट केही सामान निकाल्न नपाएको बताए । ‘एक्कासी आगो फैलियो मालसामान, कागजात केही निकाल्न पाइएन’, गुरागाईंले भने, ‘मान्छे भने भागेर ज्यान चाँही जोगाउन सफल भइयो ।’

आगो लाग्ने वित्तिकै अन्य घरमा फैलिन थालेपछि स्थानीय के गर्ने र कसो गर्ने भन्ने अन्यौलमा देखिएका थिए । सदरमुकाम फुङलिङबाट दमकल आइपुग्न समय लागेकाले स्थानीय प्रशासन, प्रहरी र स्थानीय मिलेर थप घरमा क्षति हुन नदिन एक्स्काभेटर प्रयोग गरेर केही घर भत्काउने निर्णय गरेका थिए । एक्स्काभेटरले कच्ची घर भत्काउन थालेको केही समयपछि दमकलपनि आइपुगेको थियो । त्यसपछि करिव १ बजेतिर आगो फैलिनबाट रोकिएको थियो ।

‘साढे आठ पौने नौ बजेको थियो होला एकैचोटि घरको धुरी दन्दनी बलेको देख्यौं,’ मंगलबारको आगलागीबाट तीन वटा घर पूर्ण रुपमा गुमाएका लोकेन्द्रबहादुर अधिकारीले भने, ‘केही उपाय नै लागेन। घर, पसल, गोदामका सामान हेर्दाहैर्दै खरानी भए ।’ सात जनाको परिवारसहित दोभान क्षेत्रमा किराना व्यवसायसँगै कृषि सामग्री, अलैंची लगायतको व्यापार गर्दै आएका उनले भएभरका सबै सम्पत्ति गुमाए । उनका तीन वटा घर एकैपटक खरानी भएका छन् । ‘किराना पसल जल्यो, १ सय ३० बोरा त अलैंची मात्रै खरानी भयो,’ उनले भने, ‘त्यसबाहेक भर्खरै झारेको ३ सय ५० बोरा युरिया पनि सबै जल्यो ।’ काठ र जस्तापाताले बनेका तीन वटा घरमा भएका कुनै पनि सामानको नामोनिशान नरहेको उनले जानकारी दिए । अधिकारीका अनुसार बजारको मध्यभागमा रहेको डिजेलको ट्यांकी विष्फोट भएपछि आगो झन् तीव्र गतिमा फैलिएको थियो । एकै व्यक्तिको पनि ठूलो क्षति भएको र ठूलो व्यापारिक केन्द्र भएका कारण क्षतिको विवरण यकिन हुन सकेको छैन ।

निमित्त प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले भनिन्, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना डेरावाल समेत आगलागीबाट पीडित बनेका छन् ।’ आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिले भन्न सकिने अवस्था नरहेको उनले बताइन् । पीडितहरुलाई तत्काल बस्न र खानाका लागि व्यवस्थापन गरेपछि क्षतिबारे लगत संकलन गरिने जानकारी खड्काले दिइन् । आगलागीमा भएको क्षतिको यकिन नभएको तर पीडितलाई अस्थायी रुपमा राखिएको उनले जानकारी दिइन् । खानाको प्रबन्ध रेडक्रस, उद्योग वाणिज्य संघ र सामाजिक संस्थासमेतको सहभागितामा भएको बताइएको छ । केही वर्ष पहिले ताप्लेजुङ सदरमुकाम फुङलिङमा भिषण आगलागी हुँदा बजार सखाप भएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने भए पनि यसबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।

आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमी बैंकको शाखा कार्यालय र आइएमीको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको छ । जिल्लाको दोस्रो ठूलो बजार दोभान हो । यस बजारमा १०० व्यापारिक घर छन् । प्रहरीले क्षतिको विवरण संकलन हुँदै गरेको जनाएको छ । तमोर र मैवा खोलाको बीचमा अवस्थित सानो भीरको फेदमा रहेको लाम्चो आकारको यो बजारका ६० प्रतिशत घर आगोले ध्वस्त पारेको छ । सदरमुकाम फुङलिङबाट आठ किलोमिटर पश्चिमोत्तर दिशामा रहेको बजारमा रहेका अधिकांश घर काठ र जस्ताले बनेका थिए । मेरिङ्देन गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बजार क्षेत्रका ४० प्रतिशत घर मात्रै जोगिएको गाउँपालिका अध्यक्ष गणेशप्रसाद लिम्बुले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पिडितलाई राहात र बस्ती पुनःनिर्माणका लागि सरकारले सहयोग गर्ने घोषणा गरेका छन् । उनले जनताका समस्याबाट सरकार भाग्न नसक्ने भन्दै घटनाप्रति दुःख समेत व्यक्त गरेका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सांसद योगेश भट्टराईले भुकम्पपिडित सरह राहात व्यवस्था उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिक्रिया