अविश्वासको प्रस्ताव अघि नबढ्ने

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्धको पुरानो अविश्वासको प्रस्ताव तत्काल अघि नबढाउने भएको छ । संसद् विघटन भएकै दिन पुस ५ मा संसद् सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको हो । फागुन ११ मा सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको छ । यस्तो अवस्थामा उक्त अविश्वास प्रस्तावको भविष्यलाई लिएर चासो व्याप्त छ । दाहाल–नेपाल समूहका नेताहरूका अनुसार अविश्वास प्रस्ताव अघि नबढाइनुमा राजनीतिक र कानुनी कारण मुख्य रहेको बताए ।

यद्यपि अविश्वास प्रस्ताव अगाडि बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने अधिकार सभामुखको भएको दाहाल–नेपाल समूहका नेता देव गुरुङले बताए । ‘अदालतले शून्य समय भनेको अवस्थामा त्यो अगाडि बढ्छ÷बढ्दैन भन्ने कानुनी पाटा केलाएर सभामुखले निर्णय गर्नुहोला’, उनले भने । अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहालको नाम छ । यसले कांग्रेससँग सत्ता समीकरणका लागि बाटो बन्द गर्ने भएकाले दाहाल–नेपाल समूह पुस ५ को अविश्वासको प्रस्ताव अगाडि बढाउने पक्षमा नदेखिएको हो । दाहाल–नेपाल समूहका ९० सांसदले भावी प्रधानमन्त्रीका रूपमा दाहाललाई प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, कति सांसद आफ्नो पक्षमा छन् भने यो समुह अहिले पनि ढुक्क छैन ।

यसै कारण दाहाल–नेपाल समूह असफल हुने कुनै पनि प्रस्ताव अगाडि बढाउने पक्षमा देखिँदैन । ‘सर्वोच्च अदालतको फैसलाअनुसार पनि त्यही रूपमा अगाडि बढ्दैन भन्ने देखिन्छ । दोस्रो, हामीले अरू राजनीतिक पार्टीहरूसँग सल्लाह गरेर अगाडि बढ्नुपर्ने पृष्ठभूमिमा सायद नयाँ ढंगले अविश्वासको प्रस्ताव वा सरकार परिवर्तनको प्रक्रिया अगाडि बढ्छ’, दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

दाहाल–नेपाल समुह अझैपनि कांग्रेस र जनता समाजवादी पार्टीको निर्णय कुरेर बसिरहेको छ । यी दुई पार्टी भने पहिला नेकपाका दुई समुह दुई पार्टीका रुपमा आएमात्र आफुहरुको भूमिका हुने बताउदै आएका छन् । नेकपा औपचारिक रुपमा विभाजन भएमा सरकार बनाउन वा टिकाउनका लागि कांग्रेसको समर्थन अनिवार्य रहेको छ । उनीहरूले ’पर्ख र हेर’ को नीति अवलम्बन गरेको देखिन्छ ।

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल कुनै पार्टी विशेषको आन्तरिक विवादमा कांग्रेस नफस्ने तर्क गर्छन् । नेकपा आधिकारिक रूपमै विभाजित भए कांग्रेसले प्रधानमन्त्री ओलीको पार्टी अथवा दाहाल–नेपालको पार्टीलाई प्रधानमन्त्रीमा सघाउँछ भन्ने जिज्ञासमा रिजालले कम्युनिस्ट पार्टीकै एक जनाको विकल्पमा अर्कालाई कांग्रेसले नसघाउने दाबी गरे । ‘अंशबण्डा गर्ने हो भने उहाँहरूले अहिले प्रस्ट रूपमा के बुझ्नुप¥यो भने ओलीको विकल्पमा अर्का कम्युनिस्ट नेता प्रधानमन्त्री हुने अवस्था हुँदैन’, उनले भने, ‘त्यस्तो अवस्थामा उहाँहरूले कांग्रेसबाटै प्रधानमन्त्री बनाउने मानसिकता राख्नुपर्छ ।’

प्रतिक्रिया