गुरुङको जन्मजयन्ती

काठमाडौं । संगीतकार तथा गायक अम्बर गुरुङको ८३औँ जन्मजयन्तीको सन्दर्भ पारेर ‘ट्रिब्युट टु लिजेन्ड अम्बर गुरुङ’ कार्यक्रमको आयोजना गरिएको छ । राजधानीको राष्ट्रियसभा गृहमा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसँगै नेपाली सांगीतिक क्षेत्रका विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्ति सहभागी थिए ।

नेपाली सेनाको सैनिक ब्यान्डले राष्ट्रगान प्रस्तुति गरेसँगै सुरु भएको कार्यक्रममा संगीतकर्मीले गुरुङका सांगीतिक सिर्जना ‘रातो र चन्द्र सुर्य’, ‘नौलाख तारा’, ‘सम्हालेर राख’, ‘कँही आफ्नो भुमरीमा आफै प¥र्यौकी’ लगायत प्रस्तुत गरेका थिए । उक्त समारोहमा साधना कला केन्द्रका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल सांगीतिक संघका अध्यक्ष तथा साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले अमर स्रष्टाको सम्मानस्वरुप कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने, ‘हामीले संगीतका गुरुलाई कहिल्यै बिर्सनु हुँदैन ।’ कार्यक्रमकी संयोजक आशा गौतमले नेपालमा आफूभन्दा अग्रजलाई सम्झने र सम्मान गर्ने बानी हराउँदै गएकाले त्यसलाई चिर्न कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘हामीले अग्रजलाई बिर्सँदै गयौँ भने हाम्रो इतिहास कहाँ पुग्ला ?’

नेपाल सांगीतिक संघको आयोजना र साधना कला केन्द्रको प्रस्तुति र व्यवस्थापनमा भएको कार्यक्रममा गुरुङका जेठा छोरा गिटारिस्ट तथा इथ्नोम्युजिकोलोजिस्ट किशोर गुरुङद्वारा लिखित पुस्तक ‘घाटु’ को अंग्रेजी संस्करणसमेत विमोचन गरियो । त्यस्तै, सोही समारोहमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर राष्ट्रिय प्रतिभा सम्मान पनि प्रदान गरिएको थियो । नेपाली राष्ट्रगानका संगीतकारसमेत रहेका गुरुङलाई नेपाली सेनाले मानार्थ महासेनानीको पद पनि दिएको थियो । त्यस्तै, नेपाल सरकारले उनको सम्मानमा रु. १० को हुलाक टिकट पनि प्रकाशन गरेको छ । सन् १९३८ मा जन्मिएका गुरुङको सन् २०१६ मा निधन भएको थियो ।

प्रतिक्रिया