सातदोबाटो शीर्षस्थानमा

काठमाडौं । सातदोबाटो युथ क्लबले ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा सातादोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भ्ुवन बस्नेतले गोल गरे । सविन केसी र आदिल हामदिको गोल सान्त्वना बन्यो । खेलको ११औं मिनेटमा दोर्जे तामाङको गोलबाट सातदोबाटोले खेलमा अग्रता लिउको थियो ।

२६औं मिनेटमा खुमलटारका कप्तान सविन केसीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४८औं मिनेटमा आदिल हामिदले गोल गर्दै खुमलटारलाई खेलमा २–१ ले अघि बढाए । ६१औं मिनेटमा सब्सिच्युट आशिष राईले गोल गर्दै खेललाई २–२ गोलको अवस्थामा ल्याए । आशिष ४६औं मिनेटमा आकाश राईका स्थानमा मैदान प्रवेश गरेका थिए । ७४औं मिनेटमा भुवन बस्नेतले गोल गर्दै सातदोबाटोलाई ३–२ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा सातदोबाटोले जित दर्ता गर्न सफल भयो ।

यो जितसँगै सातदोबाटोले ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । पराजित खुमलटार १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । लिगकै दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसनले लिगमा पहिलो जित दर्ता गर्दा टुसाल युवा क्लबलाई २–० ले पराजित गरेको छ । मध्यपुरको जितमा धिरज श्रेष्ठ र कैलाश लामिछानेले गोल गरे । खेलको २३औं मिनेटमा धिरज श्रेष्ठको गोलबाट मध्यपुरले अग्रता लिएको थियो । ६०औं मिनेटमा कैलाश लामिछानेले गोल गर्दै मध्यपुरको जित पक्का गरे । जितसँगै मध्यपुर ७ खेलबाट ४ अंक जोडेर ११औं स्थानमा रहेको छ । पराजित टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया