आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रतिनिधिमण्डलले संघय संसद्, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज भेटी पछिल्लो समय आमपाठक–स्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेको छ । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।

संघका अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य रीता बुढाथोकी र काठमाडौं उपत्यका प्रदेश अध्यक्ष सुशील दर्नालसहितको प्रतिनिधि टोलीले आज सिंहदरबारस्थित कार्यकक्षमा उनिसँग भेटवार्ता गरेको हो ।

सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल

संघले आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग भेटी विभिन्न माग प्रस्तुत गरेको छ । सो अवसरमा मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउनेबारे कतिपय नीतिनिर्देशिकाका कारण समस्या भइरहे पनि सक्दो पहल भइरहेको जानकारी दिए ।

मन्त्री गुरुङले यही फागुन २८ र २९ गते बुटवलमा हुने संघको प्रथम महाधिवेशनका लागि सक्दो सहयोग गर्ने आश्वासन पनि दिए । संघका अध्यक्ष पहाडीले सरकारी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताको हिसाबले समावेशी हुनुपर्ने तथा दलित समुदायद्वारा सञ्चालित आमसञ्चारमाध्यम नवीकरणमा कर छुटका साथै त्यस्ता सञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्ने माग गरे ।

देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन संघमा देशभरका दुई हजारबन्दा बढी दलित समुदायका पत्रकार आबद्ध छन् । संघको हालसम्म ६० जिल्ला शाखा, सात प्रदेश र काठमाडौं उपत्यका समिति छन् ।

प्रतिक्रिया