राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ । दोस्रो चरणको प्रशिक्षण सुरु भएको दुई हप्तामा स्थगित हुन पुगेको हो । क्यानले फागुन २२ देखि सुरु हुने काठमाडौं मेयर कप–२०७७ लाई कारण देखाउँदै मंगलबारदेखि स्थगित गरेको जनाएको छ । क्यानले फागुन २ गते देखि दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडीलाई राखेको थियो । ‘मेयर कप सकिँदा फागुन पनि सकिन्छ । त्यसपछि तत्काल बोलाउने वातावरण नहुन सक्छ, के निर्णय हुन्छ त्यसमा भरपर्छ’, क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘ मेयरकपपछि प्रशिक्षकसँग छलफल गरेर टुंगो लगाउने छौं । झट्ट हेर्दा क्याम्प राखि राख्नु पर्ने परिस्थीति भने देखिदैन । अनिश्चित समयको लागि स्थगित भएको हो, परिस्थिति हेरेर मात्र प्रशिक्षण थाल्ने छौं ।’

नेपालले चैतमा ओमानमा अमेरिकासँग आइसिसी विश्वकप लिग–२ अन्तर्गत एक दिवसिय त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेपनि कोरोना महामारीलाई देखाउँदै आइसिसीले स्थगित गरेको थियो । उक्त भ्रमणको लागि क्यानले दुई चरणमा खेलाडी बोलाएको थियो । पहिलो चरणमा २१ र दोस्रो चरणमा २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । मेयर कप फागुन २२ देखि २९ गते सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ । पाँच टोलीबीच प्रतिस्पर्धा हुने छ ।

माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बाग्मती प्रदेश सँगै काठमाडौं महानगरपालिका टोलीले मेयर कपमा प्रतिस्पर्धा गर्नेछन् । महानगरको टोली प्रधानमन्त्री कपमा सहभागी प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडी समावेश गरेर तयार हुनेछ । टोलीहरुले सिंगल राउन्ड रोविनमा खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया