रोजगारी र पूर्वाधार विकासमा प्राथमिकता : चौधरी

काठमाडौं । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले सञ्चालन गरेको राष्ट्रव्यापी गरिखाने अभियानको ‘रोड शो’ कार्यक्रममा उद्योगपति बिनोद चौधरीले रोजगारी र पूर्वाधारलाई प्राथमिकता दिएको बताएका छन । नेपाली कांग्रेसले उद्योगपति एवं प्रतिनिधि सभा सदस्य चौधरीको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । गरिखाने अभियान उद्यमशील बन्न चाहानेहरूलाई सीप, पुँजी, प्रविधि र बजारसँग जोड्ने देशव्यापी अभियान हो । यस अभियानसँग जोडिनेलाई उद्यमशील बनाउन विभिन्न व्यावसायिक संस्थाले काम गरिरहेका छन् । कोभिड–१९ महामारी उत्पन्न संकटको परिवेशमा आम मानिसको आयआर्जनका क्रियाकलापमा पर्ने असरलाई ध्यान दिदैं समितिले अघि बढाएको गरिखाने अभियान अन्तर्गत नवउद्यमी, उद्यमलाई विस्तार गर्न चाहाने, नवीन सोच भएका, हातमा सीप भएकाहरूलाई उद्यमी बन्न आवश्यक सहयोग गर्दै आएको छ ।

झापामा आयोजित रोड शो कार्यक्रमलाई सम्बोधन गर्दै समितिका संयोजक चौधरीले अनुशासन, कडा परिश्रम, दृढ इच्छाशक्ति र चाहेको कुरा पु¥याउँछु भन्ने संकल्पले व्यावसायिक सफलता प्राप्त हुने बताए । गरिखाने अभियानको रोड शो मा मूलतः यस अभियान सम्बन्धमा जानकारीका साथै उद्यमशीलता प्रवद्र्धन र वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै आएको छ । उक्त कार्यक्रममा चौधरीले रोजगारी, उद्यमशीलता र पूर्वाधार विकासले राष्ट्र सबल र समृद्ध हुनेमा जोड दिएका थिए । चौधरीले नेपाली कांग्रेसको नेतृत्वमा २०४८ सालमा गठन भएको सरकारले अर्थतन्त्रमा युग परिवर्तन गराएको भन्दै पुनः अर्थतन्त्र र विकासलाई गति दिन रूपान्तरणकारी अभियान आवश्यक रहेको बताए ।

‘सोच, सपना,स्रोतको पहिचान गरेर योजनावद्ध ढंगले गरिने लगानीले नयाँ–नयाँ उद्यमीहरू जन्मनेछन् र धेरैलाई सफल उद्यमी बनाउनु नै हाम्रो अभियानको सार्थकता हुनेछ’ चौधरीले भने,‘समयसापेक्ष र जनताको आवश्यकता अनुसार पार्टीको अभियान अघि बढ्न जरुरी छ । अब प्रत्येक वार्ड कार्यालयलाई गरिखाने कार्यालयको रुपमा स्थापित गर्न सबैलाई आग्रह गर्दछु ।’ बागमती प्रदेशका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले गरिखाने अभियान गाउँमुखी, कर्ममुखी र जनमुखी अभियान भएको भन्दै यसमार्फत् नेपाली कांग्रेसले आर्थिक सशक्तीकरण र आर्थिक समृद्धिको एजेण्डा लिएर अघि बढेको बर्ता । ‘मैंले देश र समाजको सेवा गर्न राजनीति गरेको हुँ, जीवन चलाउन व्यवसाय गरेको हुँ,’ उनले भने,‘राजनीतिलाई पेशा बनाउने संस्कारलाई अन्त्य गर्नुपर्छ ।’ बानियाँले गरिखाने अभियान अन्तर्गत आगामी असार मसान्तसम्ममा एकहजार परियोजनालाई सहयोग पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममा लगानी, पूर्वाधार र रोजगार समितिका सहसंयोजक दीपक खड्काले स्थानीय सम्भावना, सही व्यावसायिक योजनाका साथ लगानी गरेर युवाले आफूलाई उद्यममा स्थापित गर्न सक्ने र उनीहरूलाई यस अभियानले सहयोग गर्ने बताए । प्रदेश १ का सांसद ओम सरावगीले उद्यमशील बन्न चाहाने युवाहरूको संख्या धेरै भएकाले उनीहरूलाई आवश्यक मार्गदर्शनले उद्यमशीलता विकासलाई प्रवद्र्धन गर्दै लैजान सकिने उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस झापा कोषाध्यक्ष केशव पाण्डेले विकासका योजना बनाउँदा कहिल्यै सरकारले स्थानीयसँग छलफल नगरेको गुनासो गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं व्यावसायी छत्र गिरीले समग्र लगानी अनुकुल वातावरण निर्माणमा सबै पक्षबाट दबाब दिन आवश्यक रहेको धारणा राखेका थिए ।

प्रतिनिधि सभा सदस्य एवं व्यावसायी उमेश श्रेष्ठले स्थानीय सम्भावना र बजार पहिल्याई सफल उद्यमीलाई सहयोग गर्नेगरी गरिखाने अभियान अन्तर्गत शुरु भएको मोडल सफल हुँदै गएको उल्लेख गर्दै गरिखाने अभियानमा आवद्ध भएकाहरूलाई उद्यमी बन्न, रोजगार बन्न आवश्यक सहयोग अभियानमा आवद्ध व्यवसायिक संस्थाहरू मार्फत् प्रदान गर्ने जाकारी दिए । सो अवसरमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले गरिखाने अभियानले ५ लाख देखि २५ लाख सम्मका उत्पादनमूलक क्षेत्रका परियोजनाहरूमा ध्यान केन्द्रित गरेको भन्दै उद्यमीको संख्या बढेमात्र देशको राजस्व वृद्धि हुने र पूर्वाधार तथा जनकल्याणमा खर्च गर्न सरकारसँग पर्याप्त स्रोत हुनेमा जोड दिए ।

प्रतिक्रिया