‘दाहाल–नेपाल समूहको खुशीयाली सभा, अब मुलुक संविधानबाट चल्छ’

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहर्याउँदै पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ ।

राजधानीको शान्तिवाटिकामा भेला भएको जनसमुदायले सरकारको असंवैधानिक कदम न्यायालयले सच्याएको जनाउँदै खुशीयाली साटासाट गरेको थियो । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

सरकारको सिफारिशमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए ।

शान्तिवाटिकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रमा गरेका थिए । जुलुसमा नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाल र जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो । जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।

‘अब मुलुक संविधान र संविधानबाट चल्छ, सर्वोच्चबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाँची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ’, नेतृ भुसालले भनिन् । विश्वकै उत्कृष्ट समाजवादी नमूना स्थापना गर्न अब आफूहरूको ध्यान केन्द्रित हुने बताउँदै उनले जनताको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेतृ भुसालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशव्यापी संघर्ष गर्न साथ दिने सम्पूर्ण जनसमुदायप्रति पनि आभार व्यक्त गरेकी छन् । नेकपाले प्रतिनिधिसभा पुनःस्थापनाको खुशीयालीमा देशभर जनसभाको आयोजना गरेको छ ।

प्रतिक्रिया