अब कसरी अगाडी बढ्न राजनीति ?

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्च अदालतको फैसलासँगै अबको राजनीति कसरी अगाडी बढ्छ भन्ने कुरा नेकपा संसदीय दल र निर्वाचन आयोगको निर्णयमा भर पर्ने देखिएको छ । प्रतिनिधिसभा विघटनको निर्णयपछि नेकपा कानुनी बाहेक सम्पूर्ण रुपले दुई समुहमा विभाजित भईसकेको छ । प्रतिनिधिसभा पुनःस्थापना भएकाले अब नेकपा कसरी अगाडी बढ्छ भन्ने कुरा मुख्य देखिन्छ । दुवै पक्ष एकले अर्कालाई स्विकार गरेर अगाडी बढ्ने अवस्था देखिएको छैन । दुवै पक्ष तिर लगभग उस्तै उस्तै संख्यामा सांसद देखिन्छन् । त्यसैले संयुक्त बैठक बस्न नसक्दा निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुग्नुपर्ने हुन्छ । यद्यपी पुनःस्थापना भएको मितिसम्म संसदीय दल विभाजित नभएको र बहुमतप्राप्त दल भएकाले वर्तमान सरकारको भविष्य, भावी सरकार लगायतका तमाम विषय नेकपा संसदीय दलको निर्णयमा नै निर्भर हुने देखिएको हो ।

नेकपाको दल विभाजन नभएपनि शिर्ष नेताहरु विभाजित भएकाले यो पार्टी फुट्नमा पनि सकस देखिएको छ । निर्वाचन आयोगले यसअघि आधिकारिकता माग्न दुवै पक्ष नआएको र निर्णय अभिलेखिकरण गर्न मात्र माग भएको बताएको थियो । आयोगको निर्णयमा दुवै अध्यक्षको सहमतिमा महासचिवले बैठक डाक्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै दुवै पक्षको निर्णयलाई अस्विकार गरिदिएको थियो ।

फागुन २४ गतेभित्र प्रतिनिधि सभा बैठक बसिसक्नुपर्नेछ । त्यसपछि राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने कुरा नेकपा संसदीय दलका निर्भर हुनेछ । नेकपाका नेताहरुका अनुसार अब प्रधानमन्त्रीले राजिनामा दिने वा संसदमा विश्वासको मत प्राप्त गर्ने वा अविश्वासको प्रस्ताव दर्ता गरेर अगाडी बढ्ने भन्ने विकल्प रहेको बताउछन् । नेकपा कानुनी रुपमा विभाजन भएमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण देखिन्छ । कांग्रेसले नेकपाको कुन पक्षसँग सहकार्य गर्छ वा अन्य दललाई पनि समेटेर अगाडी बढ्छ भन्ने कुरामा पनि नयाँ सरकारको निर्धारण हुने बताइएको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले बुधबार सर्वोच्च अदालतको निर्णयका विषयमा आफ्नो सन्देश दिने भएका छन् । बुधबार विहान उनले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । उनले आफ्नो कदम के हुने हो वा राजिनामा दिएर अगाडी बढ्ने भन्ने बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । त्यसपछि दिउसो स्थायी कमिटीको बैठक बोलाइएको छ । उता, दाहाल–नेपाल समुहले भने अपरान्ह ४ बजे संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया