निस्कियो बालप्रज्ञा

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशन हुने बालपत्रिका ‘बालप्रज्ञा’ को तेस्रो अंक प्रकाशन भएको छ । यस पत्रिकाले बालदेखि प्रौढ स्रष्टाका बालउपयोगी सामग्री प्रकाशन गर्दै आएको छ । विशेष गरी बालबालिकालाई ज्ञान र मनोरञ्जन प्रदान गर्नुका साथै तिनमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यस बालपत्रिकाको प्रकाशन सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार पत्रिकाले बालसाहित्यप्रेमी प्रौढ पाठक र सिर्जनाप्रेमी धेरै बालबालिकाका बिचमा लोकप्रिय बनेको छ ।

‘बालप्रज्ञा’ को यस अंकमा नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदास मानन्धरको रोचक बालापन समेटिएको छ भने बालबालिकालाई सत्कार्यमा हौसला प्रदान गर्ने खालका कुलमान घिसिङ र स्टेफेन हकिङको उत्प्रेरणामूलक जीवनी प्रस्तुत गरिएको छ । विशेषतः बाह्र वर्षमुनिका बालबालिका र सोह्र वर्षमुनिका किशोरकिशोरीहरूको रुचि, भाषिक क्षमता र विषयक्षेत्रलाई समेट्ने खालका कविता, गीत, गजल, कथा, निबन्ध, एकांकी र विविध जानकारी यस अंकमा प्रकाशित छन् । साथै ‘हाम्रा सिर्जना’ स्तम्भअन्तर्गत बालबालिकाका सिर्जना, ‘हाम्रो कुची’ स्तम्भअन्तर्गत बालबालिकाले बनाएका चित्र, ‘हाम्रो मातृभाषा’ स्तम्भअन्तर्गत बालबालिकाले नै लेखेका मातृभाषाका सिर्जना समेटिएका छन् । यसरी नै बालबालिकाको बौद्धिक विकास गर्ने खालका भाषिक खेल तथा कोठेपद प्रकाशित छन् भने ‘अनुभूति’ स्तम्भअन्तर्गत सातै प्रदेशका बालबालिकाका कोरानासम्बन्धी अनुभूतिलाई यहाँ प्रकाशन गरिएको छ । साथै स्वास्थ्य सचेतताका लागि डा. रवीन्द्र समीरको कोरोना के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारीमूलक लेख पनि यहाँ समेटिएको छ भने ‘हाम्रो भूगोल’ स्तम्भअन्तर्गत प्रदेश २ को भौगोलिक एवं सांस्कृतिक परिचयसमेत दिइएको छ ।

प्रतिष्ठानले बालबालिकाको प्रतिभाको सम्मान गरी सिर्जनात्मक विकासको लक्ष्य राखेर बालपत्रिकाको थालनी गरेको हुँदा यसलाई चाँडै नै योजनाबद्ध तरिकाले देशभरिका बालबालिकासम्म पु¥याउने लक्ष्य राखिएको जानकारी पत्रिकाका प्रधानसम्पादक प्राज्ञ डा. देवी नेपालले दिए । प्रा.डा. ध्रुवकुमार घिमिरे कार्यकारी सम्पादक र नवराज रिजाल, गोपीकृष्ण ढुंगाना र देवु लुइँटेल सम्पादक रहेको र राजेश मानन्धरका भावअनुकूल चित्र पत्रिकामा रहेका छन् ।

प्रतिक्रिया