भलिबलमा तनहुँ र म्याग्दी च्याम्पियन

काठमाडौं । पोखरामा आयोजित प्रथम गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँ जिल्लाले जितेको छ । पोखरा रंगशाला सम्पन्न महिला तर्फको फाइनल खेलमा पर्वतलाई ३–० को सोझो सेटमा हराउँदै म्याग्दी च्याम्पियन बनेको हो । त्यसैगरी पुरुषतर्फको खेलमा स्याङ्जालाई ३–२ को सेटले पराजित गर्दै तनहुँ विजयी बनेको हो । तनहुँले उपाधिसंगै २ लाख, टफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको स्याङ्जाले नगद १ लाख नगद, टफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । त्यस्तै महिलातर्फको फाइनल खेल जितेको म्याग्दीले उपाधिसँगै २ लाख नगद प्राप्त गरेको छ । खेलको उपविजेता पर्वतले १ लाखमा चित्त बुझाउन बाध्य भएको छ ।

त्यस्तै सान्त्वना स्थान हाँसिल गरेको महिलातर्फको तनहुँको टोली र पुरुषतर्फ पर्वतको टोली ट्रफी मेडल तथा प्रमाणपत्र सहित समान ५०/५० हजार पुरस्कार हात पारेका छन् । उक्त प्रतियोगिताको महिलातर्फको खेलमा म्याग्दीकी अरुणा शाही सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले नगद ५ हजार पुरस्कार हात पारिन् । पुरुष तर्फ तनहुँका मिलन चन्द ठकुरी सर्बाेत्कृष्ट खेलाडी घोषित भए । उनले पनि ५ हजार नगद पुरस्कार हातपारेका छन् ।

यसैगरी विधागत महिलातर्फ उत्कृष्ट स्पाईकर तनँहुकी उषा भण्डारी, डिफेण्डरमा कास्कीकी अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतकी हिरा केसी, सर्भरमा म्याग्दीकी कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ घोषित भए । त्यसैगरी पुरुष विधागत तर्फ स्पाईकरमा तनँहुका अशोक श्रेष्ठ, डिफेण्डरमा स्याङजाका राजन दर्लामी, ब्लकरमा स्याङजाका महेन्द्र श्रेष्ठ, सर्भरमा स्याङजाका बिवस थापा, सेटरमा तनँहुका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित भए । विधागत विजेता खेलाडीलाई समेत नगद ५÷५ हजार पुरस्कार सहित ट्रफी र पदक प्रदान गरिएको छ । विजेता,उपविजेता र सान्त्वना स्थान हाँसिल गरेका टिमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका महिला तथा पुरुष गरी कुल २० टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया