डा. उपाध्यायको कफी लभ

काठमाडौं । गीतकार डा. डि आर उपाध्यायले आफ्नो ११औँ उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् । आइतबार प्रणय दिवसको अवसर पारेर कमलादिस्थित प्रज्ञा भवनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले उक्त पुस्तकको संयुक्त रुपमा विमोचन गरे । कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवं जीवनशैली र वर्तमान नेपाली समाजको अवस्था उपन्यासले छर्लंग पारेको जिकिर गरे । उनले भने, ‘गीत लेखनबाट कृतिमानी कायम गरेका डा. उपाध्यायको उपन्यास पनि त्यत्तिकै पठनीय रहेको छ ।’ अग्रज आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यताभन्दा फरक किसिमले दिएको सुनाए । उनले समकालिन पुस्तालाई यो उपन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र प्रौढ पुस्ताले आफ्ना कलेजका दिन स्मरण गर्ने बताए । कलेज पढ्दै गरेका युवायुवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेमसम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अवरोहको कथामा उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँचजना नेपाली विधार्थीबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ ।

आख्यानकार उपाध्यायले उपन्यास लेख्दा आफू २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवायुवतीको संगतमा रही उनीहरुको प्रेमभावलाई पुस्तकमा समेटेको बताए । यो पुस्तक तन्नेरी मनसँग सामिप्य रहेको र सबै पुस्ता एवं वर्गको भाव यसमा समेटेको पनि उनले जानकारी गराए । पुस्तकको समीक्षा गर्दै कवि हेम प्रभासले तृतीय पुरुषमा लेखिएको यो उपन्यास संवाद शैलीको भएको बताए । उपन्यास पढ्न थालेपछि उपन्यासभित्रका पात्रको यात्रा र उनीहरुबीच अब के होला भन्ने कौतुहलताले कृति पढेर सकिएको महशुस नै नहुने उनले जिकिर गरे । यस्तै, संगीतकार सन्तोष श्रेष्ठले लेखकका बारेमा जानकारी गराउँदै अरु उपन्यासभन्दा यो निकै फरक शैलीमा लेखकले तयार गरेको बताए । उनले पुस्तक पढ्दा आफूलाई एउटा सफल चलचित्र हेरेको महशुस सुनाए ।

गायक तथा संगीतकार सागर शरद अधिकारीले कार्यक्रममा अतिथिलाई स्वागत गर्दै राम्रा गीत लेखेर विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय आख्यान लेखनमा पनि त्यत्तिकै प्रभावशाली भएको बताए । पुस्तकका सम्पादक तथा गीतकार सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेरभन्दा आधा उमेरमा झरेर आख्यानकार उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उधिनेको बताए । उनले घटना, स्थान, परिवेश र संवादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने पनि जिकिर गरे । प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही कितावमा परेको महशुस पाठकलाई हुने बताए । शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको हो ।

प्रतिक्रिया