कास्की । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन सकिएको छ । शनिबार पोखरामा निर्माण पक्षले चलचित्रको छायांकन जनाएको छ । अधिकांश छायांकन काठमाडौंमा गरिएको यो चलचित्रको एक हप्तासम्म पोखरा छायांकन गरिएको थियो । ३३ दिनमा छायांकन सकिएको यो चलचित्रको निर्माता, निर्देशक तथा गीतकार रमेश एम.के पौडेल रहेका छन् ।
इन्ड क्ल्याप घोषणा गर्दै निर्देशक पौडेलले चलचित्रको काममा यस अवधिमा साथ र सहयोग गर्ने सबैमा आभार प्रकट गरे । उनले भने, ‘सुन्दर सहर पोखराबाट चलचित्रको छायांकन सकिएको घोषणा गर्न पाएकोमा हामी दंग छौ । यस्तै साथ र समर्थन आगामी दिनमा पनि पाउने आशा र विश्वासमा छौं ।’ चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भएको कार्यक्रममा अभिनेता पुष्पले चलचित्र राम्रो बनेको जिकिर गरे । उनले ‘तिम्रो मेरो साथ सबै वर्ग, तह र तप्काका दर्शकको रूचिलाई ध्यानमा राखेर बनाएको बताए । कलाकार सन्दिप क्षेत्रीले यो चलचित्रले आफ्नो कलाकारिताको यात्रालाई फरक ढंगले अगाडि बढ्न सहयोग गर्ने जिकिर गरे ।
चलचित्रका कार्यकारी निर्माता तथा लेखक सविर श्रेष्ठ, छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछानेले चलचित्रका बारेमा बोलेका थिए । करिब दुई करोडको लगानी रहेको बताइएको यो चलचित्र नेपालभन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशमा प्रदर्शन गरिने जनाइएको छ । त्यसपछि मात्रै नेपालमा दसँै र तिहारको बिचको सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । बोधी एच डि र आर्यन फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा अभिनेता पुष्प, अभिनेत्री साम्राज्ञीसँगै सरोज खनाल, सन्दिप क्षेत्री र खगेश्वर पुन मगर (खबपू) लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया