पाँच हजारबढी भूकम्पपीडित लाभग्राही सूचीबाट हट्दै

काभ्रे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनर्निर्माण लाभग्राही सूचीबाट हटाउने भएको छ । जिल्ला कार्यान्वयन एकाइले गत १५ पुसभित्र आवास निर्माण सम्झौता गरी पहिलो किस्ता रकम नलिएका ५ हजार ३ सय ७२ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाउन पुनर्निर्माण प्राधिकरण केन्द्रीय कार्यालयमा सिफारिस गर्ने भएको हो । प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि भूकम्पपीडितले गत १५ पुसभित्र पहिलो किस्ता अनुदान रकम बुझ्नुपर्ने अन्तिम सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र पहिलो आवास अनुदान रकम नलिएकाकालाई लाभग्राही सूचीबाट हटाउन लागिएको धुलिखेलस्थित कार्यालयका निमित्त प्रमुख रामप्रसाद ख्याजूले जानकारी दिए । उनका अनुसार लाभग्राहीमा सूचीकृत भएका तर तोकिएको समयसीमाभित्र अनुदान रकम नलिएका लाभग्राहीहरू हट्ने भएका हुन् ।

उनले भने, ‘प्राधिकरणबाट आवास पुनर्निर्माण सम्झौता नगर्नेको नाम पठाउन प्रक्रिया थालेका छौँ, सोहीअनुसार सूची तयार भइसकेको छ ।’ जिल्लास्थित सरोकारवाला निकायसँग समन्वय गरी पूर्वाधार कार्यालयले आवास पुनर्निर्माण सम्झौता नगर्नेको नाम निर्णय गरी प्राधिकरणको केन्द्रीय कार्यालय पठाउने जनाएको छ ।

प्राधिकरणले यसअघि सम्झौता भएका भूकम्पपीडितले १५ पुसभित्र सम्झौता गरी आवास पुनर्निर्माणको प्रथम किस्तावापतको ५० हजार लैजानुपर्ने समयसीमा तोकेको थियो । हालसम्म आवास पुनर्निर्माणमा सूचीकृत भएका जिल्लाका ८४ हजार ६ सय ९० भूकम्पपीडित परिवारमध्ये ५ हजार ३ सय ७२ सम्पर्कमा आएका छैनन् । विभिन्न चरणको गुनासोपछि लाभग्राहीमा सूचीकृत तथा पहिलो चरणमा सम्झौता गरेकासमेत सम्पर्कमा नआएको पूर्वाधार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बनेपा नगरपालिकामा ५ सय ४९, मण्डनदेउपुर नपामा ४ सय ६२, धुलिखेल नपामा ४ सय ६१, पाँचखाल नपामा ६ सय १३, पनौती नपामा ६ सय ४३, नमोबुद्ध नपामा ७ सय १५ तथा बेथानचोक गाउँपालिकामा ३ सय २७, भुम्लुमा २ सय ७१, चौंरीदेउरालीमा ४ सय १७, खानीखोलामा ८३, महाभारतमा ५१, तेमालमा ३ सय २६ र रोशी गाउँपालिकामा ४ सय ५४ भूकम्पपीडित परिवारले आवास अनुदान रकम सम्झौता नगरेका हुन् । हालसम्म ६३ हजार ६ सय ८८ परिवारले दोस्रो किस्ता तथा ५७ हजार ५ सय ९५ परिवारले तेस्रो किस्तावापतको रकम बुझिसकेको कार्यालयले जनाएको छ ।
दोस्रो किस्तावापत १ लाख ५० हजार तथा तेस्रो किस्तावापतको एक लाख रकम आवास पुनर्निर्माण सकेपछि दिने नीति छ । जिल्लामा ५ हजार ३ सय ६० लाभग्राहीमा सूचीकृत भूकम्पपीडितले आवास पुनर्निर्माणका लागि प्राधिकरणसँग सम्झौता गरेनन् । कार्यालयले तेस्रो किस्तावापतको रकम भूकम्पीडितले बुझेको आधारमा काभ्रेपलाञ्चोकमा ७६ दशमलव ८५ प्रतिशत आवास पुनर्निर्माणको सकिएको जनाएको छ ।

कार्यालयमा हालसम्म स्वेच्छिकरूपमा ५२ जनाले आवास पुनर्निर्माणको पहिलो किस्तावापतको रकम फिर्ता गरेका छन् भने संघसंस्थामार्फत आवास पुनर्निर्माण गरेका १ सय ६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । संघसंस्थाको सहयोगमा आवास पुनर्निर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान रहेको छ ।

प्रतिक्रिया