झापा । मोफसलमा रहेर निरन्तर लोक गीत संगीतको क्षेत्रमा सक्रिय ८५ वर्षीय लोकगायक एल.पी. जोशीलाई ‘लोक सम्राट’ को उपाधि प्रदान गरिएको छ । साहित्य चौतारी विर्तामोडद्वारा आयोजित कार्यक्रममा गायक जोशीलाई नगद २१ हजारसहित सम्मान गरिएको हो । उक्त कार्यक्रमको अवसर पारेर लोकगायक जोशीको पहिलो एकल गायन कार्यक्रम पनि सम्पन्न गरेको आयोजकले जनाएको छ । गायक जोशीले ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो’ लगायतका गीत प्रस्तुत गर्दा गायक तथा संगीतकार जीवन अधिकारी, साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष शिवशंकर थापा, संस्थाका संरक्षक तथा संस्थापक देवीभक्त श्रेष्ठ, प्रज्ञा प्रधान, मनिका चुडाल, जीवन धिताल, पुजन प्रधान, सफल थापा, युवराज पोर्तेल, सुमन निरौला लगायतले जोशीका अन्य गीत प्रस्तुत गरेका थिए । हाल दमकमा बसोबास गर्दै आइरहेका ८५ वर्षीय गायक जोशीको प्रस्तुतिसँगै जोश देखेर कार्यक्रममा सहभागी निकै हौसिएका थिए ।
लोकगीत संकलक, गायक, संगीतकार, चित्रकारका रुपमा परिचित जोशी पूर्वेली लोक सांगीतिक क्षेत्रमा मात्र नभई समग्र नेपाली गीत संगीतका जिउँदो इतिहास हुन् । मौलिक नेपाली लोकबाजा बिनायोलाई पहिलोपल्ट प्रयोग गरेर चिनाउने श्रेय पनि उनलाई नै जान्छ । ‘म राजधानीभन्दा टाढा रहेर मोफसलमै रमाउँछु । अहिलेका साना–साना बालबालिकाका बीचमा गरिएको कार्यक्रममा जाँदा झन् खुसी लाग्छ । मैले आफू जिउँदो छँदै उनीहरुलाई केही कुरा दिन सकेँ भने उनीहरुले पनि आगामी पुस्तालाई केही कुरा त देलान कि ?’, जोशीले भने ।
उनले अकस्मात् रुपमा आयोजना गरिएको यस कार्यक्रममा नयाँ पुस्ताले पनि आफ्ना गीत संगीतलाई माया गरेको देखेर अति नै हर्ष लागेको बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले लोक गीत, संगीत तथा संस्कृतिको क्षेत्रमा विगत ६ दशकदेखि सक्रिय गायक जोशीलाई अझै पनि सक्रिय रुपमा देख्न पाउँदा अहिलेका पुस्तालाई थप प्रेरणा मिलेको धारणा राखे । अग्रज पुस्ताका स्रष्टालाई सम्मानसहित प्रोत्साहन दिनुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष शिवशंकर थापा, संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ, संरक्षिका उर्मिला विमली श्रेष्ठ, गायक तथा संगीतकार जीवन अधिकारी, प्राज्ञ सुभद्रा भट्टराईसँगै संस्थाका हालका अध्यक्ष हस्त परियार, उपाध्यक्ष विमला चिमरिया, सल्लाहकार कृष्ण पौडेल, सचिव खगेन्द्रा खुशी लगायतका अन्य विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया