कर्णालीका सात जिल्लामा संक्रमित शून्य

कर्णाली । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।

दैलेखमा १ हजार ६ सय ८४, जाजरकोटमा १ सय ५९, सल्यानमा ६ सय ९३, रुकुम पश्चिममा २ सय ५७, कालीकोटमा ३ सय ३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती जिल्लाका सबै संक्रमित निको भएसँगै संक्रण शून्य देखिएको हो । कर्णाली तीन जिल्लामा मात्र कोरोना संक्रमणका सक्रिय बिरामी छन् ।

सुर्खेतमा २७, जुम्लामा तीन र डोल्पामा एक जना गरी ३१ जना संक्रमित रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । तीमध्ये सुर्खेतको प्रदेश अस्पतालमा दुई तथा वीरेन्द्रनगरका २५ जना होम आइसोलेसनमा छन् भने जुम्लाको चन्दननाथ नगरपालिकामा तीन र डोल्पाको ठूली भेरीका एक जना पनि होम आइसोलेसनमा बसेका छन् ।

कर्णाली प्रदेशमा ९७ हजार २ सय ३९ जनामा पिसिआर परीक्षण गरिएकामा ७ हजार ५ सय ३४ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणका कारण कर्णालीमा ३१ जनाको मृत्यु भएको छ । त्यस्तै ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा हालसम्म १ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस विधिको परीक्षण सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लु नगरपालिकामा भइरहेको छ ।

प्रतिक्रिया