सीमानाका खोल्न माग गर्दै ज्ञापनपत्र

बारा । बारामा रहेको सीमानाका खोल्न जिल्लाका तीन स्थानीय तहले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । कलैया उपमहानगरपालिका , महागढीमाई नगरपालिका र करैयामाई गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई ज्ञापनपत्र बुझाएको हो ।

सरकारले बाराको मटिअर्वा र सिम्रौनगढ सहित भारत र चीनतर्फका सीमामा जोड्ने ३० नाकाहरु खोल्ने निर्णय गरेको थियो । तर, बारा जिल्लाकै धेरैजसो मानिसहरूको आवतजावत हुने नाकाहरु नखुलेपछि निकै नै कठिनाई भएकोले ज्ञापनपत्र बुझाइएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले बताए ।

जिल्लामा रहेको सन्तगंज कवही गोठ भन्सार अहिलेसम्म सरकारले खोल्न निर्णय गरेको छैन । त्यस नाकासँग जिल्लाको कुल जनसंख्याको ४० प्रतिशत नाकासँग जोडिएको र बाराको सुवर्ण गाउँपालिका पचरौता नगरपालिका, देवताल गाउँपालिका, महागढीमाई नगरपालिका र करैयामाई तथा बारागढी गाउँपालिकासमेत जोडिने भएको साथै नेपाली जनताहरुको घरायसी कार्यहरू विवाह इत्यादीको किनमेल र आवतजावतका साथै विश्व प्रसिद्ध श्री गढीमाई मन्दिको दर्शनको लागि दक्षिण तर्फबाट आउने भक्तजनहरको मुख्य प्रवेशद्वार सोही नाकाबाट भएकोले नाका खुलाउनको लागि आवश्यक पहल गर्न तीन वटै स्थानीय तहले आ–आफ्नो ज्ञापनपात्र प्रमुख जिल्ला अधिकारी नेपाललाई हस्तान्तरण गरेका छन् ।

ज्ञापनपत्रमा उल्लेख गर्दै छोटी भन्सारलाई सुदृढीकरण गरी पुनः भन्सार कार्यालय स्थापनाको माग गर्दै तीन वटै स्थानीय तहले प्रजिअ नेपाललाई बुझाएको हो ।

ज्ञापन पत्र बुझाउने क्रममा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामी, महगढीमाई नगरपालिकाकी उपप्रमुख तारा देवी कानु , पुर्वमन्त्री कलावति पाश्वान, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवका स्वकीय सचिव नाजिर अन्सारीसहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया