बुटवलमा ‘शिल्पकला यात्रा’

रुपन्देही । नेपाली परम्परागत कलाको विकास, प्रवद्र्धन, संवद्र्धन तथा संरक्षण गर्ने लक्ष्यका साथ प्रदर्शनी भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागको आयोजना गरेको ‘शिल्पकला यात्रा’ प्रदर्शनीमा करिब तीन दर्जन कलाकारका कलाकृति राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले कला र संस्कृतिको संवद्र्धनविना समृद्धि हासिल गर्न नसकिने विचार व्यक्त गरिन् । उनले नेपालका दिवंगत तथा वर्तमानका चर्चित कलाकारका चित्रले नेपाली मौलिक कलाको पहिचानलाई राष्ट्रिय रुपमा चिनाउने काम गरेको बताइन् ।

उनले भनिन्, ‘उपमहानगरपालिकाले कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेको छ । अझ यसलाई व्यापक बनाउन हामीले व्यवस्थित ढंगले काम गर्नेछौं ।’ कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य याम थापाले कलाको विकासका निम्ति सथानीय सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले प्रतिष्ठानले नेपालको परम्परागत कलाको राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न प्रदर्शनीको अभियान लिएको बताए ।

प्राज्ञ सभा सदस्य मानबहादुर दोङले लुम्बिनीमा बुद्धको जन्मस्थल भएकाले यहाँ परम्परागत कलाको काम गर्न र त्यसको प्रवद्र्धन गर्न सजिलो पुग्ने बताए । उनले कलालाई जनजीवन र जीविकोपार्जनसँग जोडेर लान सकिएमात्रै यसको व्यापकता बढ्ने आफूले विश्वास लिएको सुनाए । परम्परागत कला नेपालमात्रै नभएर विश्वमै लोकप्रिय रहेको बताउँदै अग्रज कलाकार पूर्णप्रसाद ह्योजू भने, ‘मौलिक शैली र विषय रहेको परम्परा र ऐतिहासिक सम्पत्तिको संरक्षणमा राज्यको ध्यान पुग्न सकेको छैन ।’

प्रदर्शनीमा सहभागी अग्रज कलाकार उदयचरण श्रेष्ठले परम्परागत कलाको वैभवशाली इतिहासले नेपाललाई विश्वमा चिनाएको बताए । उनले प्रतिष्ठानले सातै प्रदेशमा परम्परागत कलाको प्रदर्शनी आयोजना गरेर राम्रो सुरुवात् गरेको विचार व्यक्त गरे । कला क्षेत्रमा लागेका व्यक्तिहरु जीविकोपार्जन गर्न पनि समस्या हुने गरेको बताउँदै प्रतिष्ठानका प्राज्ञ सदस्य यमबहादुर थापाले कलाको संरक्षण तथा प्रचार प्रसारमा राज्यले पहल ग¥यो भने समस्या आफै समाधान हुने बताए । उनले थाङ्का पौभा कलाकृतिबारे नेपाली समाजले बुझ्न नसक्दा महत्व घटिरहेको जिकिर गरे । उनले भने, ‘यसको महोत्वका बारेमा विदेशीहरु राम्रोसँग बुझेका छन्, त्यसैले विभिन्न देशका संग्रहालयमा नेपाली परम्परागत कला भनेर यसलाई सजाइएको पाइन्छ ।’ थापाका अनुसार रुपन्देहीमा अहिले थाङ्का र पौभा कलामा लागेका कोही पनि छैनन् ।

प्रतिष्ठानका प्राज्ञ बुद्धिबहादुर गुरुङले पूर्वीय दर्शनमा आधारित हिन्दु र बुुद्ध दर्शनका देवीदेवतालाई कलात्मक ढंग थाङ्का तथा पौभामा बनाइने बताए । उनले परम्परागत कलाका बुट्टाहरू निकै आकर्षक र कलात्मक हुने बताउँदै यसको प्रचार–प्रसारमा राज्यले विशेष जोड दिनुपर्नेमा जोड दिए । उनले प्रतिष्ठानले गत वर्ष प्रदेश १ र २ मा परम्परागत कलाको प्रदर्शनी गरेको जानकारी दिँदै यस लुम्बिनी र गण्डकी प्रदेशको वालिङ गरिने जनाए । प्राज्ञ गुरुङले प्रतिष्ठानले देशका ७ वटै प्रदेशका विभिन्न ठाउँमा दुई वर्षभित्र यस खालका कार्यक्रम गरिसक्ने योजना बनाएको बताए ।

बुटवल उपमहानगरपालिकाको सुख्खानगरस्थित स्पान होटलमा भएको प्रदर्शनीको उद्घाटन समारोहमा कलाकार तथा लेखक देवेन्द्र थुम्केलीले परम्परागत कलाप्रति आममानिसको रुचि जगाउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे । सो कार्यक्रमको अवसरमा उनले परम्परागत कलाको वर्तमान अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बुटवलका अग्रज कलाकार शान्तराम गिरी, बेनुप्रसाद थापा, आरके लिगल, लक्ष्मण श्रेष्ठ, गंगाधर आचार्य, सुमित्रा राना, लगायतका कलाकारले नेपाली कलाको विकासमा सबै कलाकार एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रदर्शनीमा दिवंगत प्रसिद्ध कलाकारहरु आनन्दमुनि शाक्य, सिद्धिमुनि शाक्य, धनबहादुर चित्रकार, माणिकमान चित्रकार, दीपककुमार जोशी र ज्ञानकार बज्राचार्यका राखिएको थियो । त्यस्तै, मानबहादुर दोङ, सूर्यबहादुर चित्रकार, लोक चित्रकार, उदयचरण श्रेष्ठ, पूर्णप्रसाद ह्योजू, मुक्तिसिं थापा, न्हुछेकाजी बज्राचार्य, निमा लामा घ्याम्छो, रत्नगोपाल सिंख्वाल, शंकरकुमार जोशी, सुन्दर सिंख्वाल, दिनेशचरण श्रेष्ठ, उजय बज्राचार्य, पाल्साङ्मो लामा, सुदर्शन सुवाल, हरिप्रसाद वैद्य, सुरेन्द्रमान शाक्य, राजप्रकाश तुलाधर, रामप्रकाश श्रेष्ठ, देवेन्द्र सिंख्वाल, अमृत डंगोल, कृष्णराम धेमसु, रितेश शाही, रवि श्रेष्ठ, भूमिराज चौलागाई, समुन्द्रमान सिंह श्रेष्ठ, जिग्मे तामाङ (मुगुम) र पुरण ह्योजूले बनाएका पौभा तथा थाङ्का प्रदर्शनीमा राखिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कर्मचारी विजय खत्रीले जानकारी दिए ।

प्रतिक्रिया