झापामा क्यान्सर रोगी बढ्दै

झापा । जिल्लामा क्यान्सर रोगीको संख्या बढिरहेको तथ्यांकले देखाएको छ । विषादीयुक्त खानेकुरा, असन्तुलित जीवनशैली र बेलैमा उपचारको अभावले क्यान्सर रोग स्वास्थ्य क्षेत्रको ठूलो चुनौती बनेको छ । प्रदेश–१ को पूर्वाञ्चल क्यान्सर अस्पतालमा हरेक दिन ६२ जना क्यान्सरका रोगी ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । एक वर्षअघि बिर्तामोडमा स्थापना भएको यो अस्पतालमा सोही अवधिमा १८ हजार ४ सय ४५ जनाले क्यान्सरकै उपचार गराएका छन् । जसमध्ये २ हजार ९ सय ४५ जना क्यान्सरका नयाँ बिरामी थिए । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार एक वर्षको अवधिमा अस्पतालमा ५ सय ८० जना क्यान्सरका बिरामीको शल्यक्रिया र ६ सय ५४ जनाको रेडियोथेरापी विधिबाट उपचार गरिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले नेपालभरिकै तथ्यांकलाई हेर्ने हो भने झापामा सबैभन्दा बढी क्यान्सरका बिरामी रहेको बताए । उनका अनुसार काठमाडौं, भक्तपुर, चितवन र भारतका विभिन्न सहरमा उपचारमा जाने क्यान्सरका बिरामीहरूमा झापाकै धेरै भएको बताए । उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा देशभरिकै जिल्लाबाट बिरामी आउने गरेको जानकारी दिँदै झापामा बढिरहेको क्यान्सर संक्रमण न्यूनीकरणका लागि व्यापक जनचेतना अभियानको जरुरत रहेको बताए ।

गत एक वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आएका २ हजार ९ सय ४५ जना नयाँ बिरामीमध्ये आधा झापाकै छन् । अस्पतालकाअनुसार सो अवधिमा १ हजार ४ सय ६२ जना क्यान्सरको उपचारका लागि आएका नयाँ बिरामी झापाकै थिए । मोरङबाट ४ सय ३१ र सुनसरीबाट २ सय ९६ जना नयाँ बिरामीले क्यान्सरको उपचार लिएका छन् । ‘क्यान्सरका जति बिरामीहरू आउनुहुन्छ, तीमध्ये धेरैजसो महिला र त्यसमा पनि स्तन क्यान्सरका बिरामी हुनुहुन्छ’, डा यादवले भने, ‘विषादीयुक्त खानपान, चुरोट–मदिराको सेवन र बेलैमा स्वास्थ्य परीक्षण नगराउने आदतले गर्दा क्यान्सर फैलिरहेको छ ।’

उनी कार्यरत रहेको अस्पतालले एक वर्षमा १ सय ४९ को स्तन क्यान्सर, १ सय ७ फोक्सो क्यान्सर र ८४ पाठेघरको मुखको क्यान्सरको उपचार गरेको छ । पाठेघरको मुख, डिम्बाशय र स्तन क्यान्सर महिलालाई लाग्ने रोग हो । नेपालमा हरेक वर्ष ३५ हजार क्यान्सरका नयाँ रोगी थपिने गरेका छन् । सरकारले विपन्न बिरामीका लागि उपचारमा सहायता पु¥याउन कोष खडा गरी एकपटकका लागि स्थानीय तहको सिफारिसमा एक लाखको उपचार सहयोग गर्दै आएको छ ।

झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालसहित नेपालमा क्यान्सर अस्पतालको संख्या पाँच मात्र छ । क्यान्सरको उपचार प्रदान गर्ने स्वास्थ्य संस्थाको संख्या १२ छ भने मुलुकभरिमा क्यान्सर रोग विशेषज्ञको संख्या ६० मात्र छ । आर्थिक वर्ष ०७६/७७ मा झापामा १ हजार ३ सय २१ जना क्यान्सरका बिरामीले जनही एक लाखको विपन्न कोषबाट उपचार सहायता लिएका छन् । बिरामीले एकपटक मात्र यस्तो सहायता पाउँछन् । उक्त अवधिमा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न उपचार कोष लागू भएको थिए ।

सो अस्पतालमा उपचार गराएका १ हजार ४ सय ६२ र अन्य अस्पतालमा उपचार गराउँदा सहयोग पाएकाहरूको संख्या जोड्दा झापामा गत वर्ष २ हजार ७ सय ८३ जना क्यान्सरका नयाँ बिरामीको पहिचान भएको देखिन्छ । मुलुकबाहिर गएर उपचार गराउनेको संख्या यहाँ सामेल छैन । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईं झापामा क्यान्सर रोगको संक्रमण भयावहरूपमा फैलिरहेको बताउँछन् । रोग लागेर उपचार गर्न धेरै धनराशि खर्च गर्नुभन्दा रोग लाग्नै नदिने रोकथामको उपायमा लाग्नु राम्रो हुने उनको धारणा छ ।

चुरोट र मदिराको अत्यधिक सेवनले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुने र खैनी र गुट्खा खाँदा मुखको क्यान्सरको जोखिम हुने क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवले बताए । खानपान र व्यायाममा ध्यान दिने हो र तनावबाट मुक्त रहने हो भने क्यान्सरको मात्र होइन, धेरै प्रकारका रोग लाग्नबाट जोगिन सकिने उनको सुझाव छ ।

प्रतिक्रिया