नमोबुद्धका वडा कार्यालय भवन शिलान्यास

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकै दिन दुई वडा कार्यालय भवनको शिलान्यास गरेसँगै निर्माणकार्य अगाडि बढाएको छ । सोमबार नगर प्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले नगरपालिका–८ र ९ को वडा कार्यालय भवन शिलान्यास गरेसँगै भवन निर्माण सुरु भएको हो ।

भवन शिलान्यास गर्दै नगर प्रमुख तिमल्सिनाले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । दुबै वडाको कार्यालय भवन निर्माणको ठेक्का जानकी निर्माण सेवा पनौती–१० ले प्राप्त गरेको छ ।

वडा नं ८ का लागि भ्याटबाहेक ४३ लाख ६१ हजार १४९ र वडा नं ९ का लागि ४१ लाख ४४ हजार २२३ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाले सबै वडामा एकै प्रकारको डिजाइनका सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजना बनाएको छ ।

नगरपालिकाले यस वर्ष पाँच वटा वडा कार्यालय भवन निर्माण गर्दैछ । केही दिनअघि मात्रै वडा नं १० को कार्यालय भवन शिलान्यास भएसँगै निर्माणकार्य अगाडि बढिसकेको छ भने यसअघि निर्माण थालिएका वडा नं ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

यस वर्ष निर्माण हुने वडा नं २ र वडा ७ को भवन निर्माण गर्न बाँकी दुई वडा कार्यालय भवन निर्माण पनि यही महिनाभित्र सुरु गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया