वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–१ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरूपमा अवैध बालुवा उत्खनन् गर्नेक्रम रोकिएको छैन । उसले वार्षिक सात करोड मूल्य बराबरको बालुवा लग्ने गरेको बताइएको छ । दैनिक एक हजारभन्दा बढी भारतीय ट्र्याक्टर अबैध रूपमा खोलामा पसेर जथाभावी बालुवा उत्खनन् गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरूको आरोप छ । खोला नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट र प्रहरीचौकीसमेत रहेको छ ।
विगत २० वर्षदेखि सो खोलाको स्वामित्वका बारेमा दुईदेशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्ने क्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए । उनले भने, ‘विगत तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता भारतीयले सो खोलाबाट पुनः अवैधरुपमा बालुवा निकाल्न थालेका छन् ।’
केही दिनअघि दुई ट्र्याक्टर कब्जामा लिएको सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिए । वारी पर्साको पिपडाडी गाउँ रहेको छ भने बारी भारतको भंगहा गाउँ रहेको छ र बीचबाट ओरिया खोला बगेको भए पनि भारतले आफ्नो क्षेत्रमा खोला रहेको भनी दाबी गर्दै ठेक्कासमेत लगाउने गरेको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले समस्याका बारेमा आफूलाई जानकारी भएको र चाँडै नै अनुगमन गरी दोषीमाथि कारबाही गरिने बताए ।
प्रतिक्रिया