ध्वनि प्रदूषण हटाउन जिल्ला ट्राफिकको सक्रियता

काभ्रे । जिल्लाको विभिन्न इलाकाहरूमा चल्ने सवारी साधनले ध्वनि प्रदूषण बढाएको भन्दै त्यसलाई कम गर्न जिल्ला ट्राफिक कार्यालय काभ्रेले सक्रियता देखाएको छ । जिल्ला ट्राफिकले हजारौंको संख्यामा हर्न सोली बसबाट निकाली कारबाही गरिसकेको जनाएको छ जिल्ला ट्राफिक कार्यालय, काभ्रे तथा मातहत ट्राफिक प्रहरीले प्रेसर हर्न प्रयोग गरी सोबाट हुने ध्वनि प्रदूषण कम गर्न उक्त सवारी साधनहरूबाट प्रेसर हर्नको सोली झिकी आवश्यक कारबाही गरिनुका साथै सार्वजनिक सवारी साधनहरूमा ध्वनि तथा चालक वर्गहरूमा प्रेसर हर्न नराख्न तथा प्रयोग नगर्नसमेत जिल्ला ट्राफिक कार्यालयले चालकलाई सुझाएको छ ।

जिल्ला ट्राफिक कार्यालय काभ्रे र माताहतका कार्यालयले हालसम्म दर्जन स्कुल बससहित ६१ वटा बसबाट २ दिनमा २ सय ८४ थान हर्न सोली निकालिएको जिल्ला ट्राफिक कार्यलय काभ्रेका प्रमूख विशाल तामाङले बताए । उनले पाँच सयभन्दा बढी टिपरहरूबाट हालसम्म १५ सयभन्दा वढी सोली झिकिएको बताएका छन् । उनले हर्न निषेधित क्षेत्र भनिएको ठाउँ स्कुल विद्यालय भएको र स्कुलकै बसले हर्न चर्काे गरी बजाउने परिपाटीको अन्त्य गर्न पनि यो अभियान कडाइका साथ सबै क्षेत्रमा लागू गरिएको बताएका छन् । तामाङले जिल्लाको सबै प्याब्सनअन्तर्गत रहेका विद्यालयहरूमा रहेका बसहरूलाई हर्न सोली झिक्न प्याब्सन काभ्रेलाई पत्रसमेत पठाएको बताए । उनले भने, ‘वहाँहरूकै सहयोगमा स्कुल बसहरूले पनि हर्न निकाल्ने र ध्वनि प्रदूषण कम गर्ने कुरामा सहयोग गर्ने विश्वास लिएको छु ।’

विभिन्न सवारीहरूका हर्नहरूबाट विभिन्न मात्राका डेसिबलसम्म ध्वनि आउँछ । मानव बस्तीमा यसले प्रभाव पारे पनि आमनागरिक सचेत भएको पाइन्न । यसको नियन्त्रणका लागि खासै आवाज पनि उठेको छैन । ध्वनि प्रदूषणबाट रक्तसञ्चारमा समस्या आउने, तनाव बढाउने र अन्ततः बहिरो बनाउने अध्ययनबाट पाइएको छ । तर सरकारले भने यो क्षेत्रमा काम गरेकै देखिँदैन । सवारीको चाप बढदा ध्वनि प्रदूषण बढदो छ । चर्काे हर्न बजाएर मानवको स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यस्ता सवारी साधन विरलै मात्रै कारबाहीको दायरामा आइरहेका छन् ।
कानुनी प्रावधान के छ ?

परिच्छेद ५ जनस्वास्थ्यको संरक्षण, प्रवद्र्धन र सुधारका लागि सामाजिक, सांस्कृतिक तथा वातावरणीय निर्धारकको ४० मा ध्वनि र वायु प्रदूषण (१) ध्वनि, वायु, जल तथा दृश्य प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नका लागि संघीय कानुनबमोजिम नेपाल सरकारले यससम्बन्धी मापदण्ड निर्धारण गर्न सक्नेछ । भन्ने अंश उल्लेख छ । (२) उपदफा (१) बमोजिमको मापदण्डको पालना गर्नु प्रदेश तथा स्थानीय तह, आमनागरिक, उद्योगी, व्यवसायी, संघ संस्थाको कर्तव्य हुनेछ । (३) ध्वनि, वायु, जल तथा दृष्य प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नको लागि संघीय कानुन बमोजिम नेपाल सरकारले ध्वनि, वायु, जल तथा दृष्य प्रदूषणसम्बन्धी मापदण्ड निर्धारण गर्नेछ ।

भनिएको छ भने यस्तै (४३) मा उद्योग र सहरीकरण (१) जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावको पहिचान गरी रोकथाम गर्न र जोखिम न्यूनीकरण गर्न तोकिएका उद्योग, व्यवसाय तथा आयोजनाको स्वीकृति लिनुअघि जनस्वास्थ्य प्रभाव मूल्यांकन गर्नुपर्नेछ । भन्ने उल्लेख गरिएको छ । यस्तै (२) उपदफा (१) अनुसारको जनस्वास्थ्य प्रभाव मूल्यांकनको मापदण्ड, संयन्त्र र तहगत कार्यक्षेत्र संघीय कानुनले तोकेबमोजिम हुनेछ । भन्ने कुरा उल्लेख गरिएको छ । तर, कुनै पनि निकायले यस विषयमा खासै चासो दिएको छैन ।

प्रतिक्रिया