राजकुलो र ढुङ्गेधारा निर्माणमा तीव्रता

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले यसै आर्थिक वर्षभित्रै प्रदेशको विभिन्न जिल्लामा सञ्चालित २४ वटा राजकुलो र ११ वटा ढुङ्गेधाराको पुनःनिर्माण कार्यलाई अहिले तीव्रता दिएको बताएका छन् ।

उहाँले आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेशको १३ जिल्लामा बहुवर्षीय योजनालाई कार्यान्वयन गर्दै लैजाने र प्रदेश सरकारले २०८५ वैशाखसम्ममा बागमती प्रदेशको विभिन्न जिल्लाको शहरमा इन्धनबाट सञ्चालित सवारीसाधनलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्नेतर्फ अभियान सुरु गरिसकेको उल्लेख गरे ।

उनले सरकारले बागमती प्रदेशको विभिन्न शहरमा विद्युतीय बस र हल्का सवारीसाधन सञ्चालनको लागि चार्जिङ स्टेशन निर्माणको क्रममा स्थानीय निकाय, प्रदेश सरकार, नगर विकास कोष र नेपाल विद्युत् प्राधिकरणबीच सहकार्य र सम्झौता भइसकेको बताए ।

उनले काठमाडौं उपत्यकालगायत त्रिभुवन राजपथ, काठमाडौं–नौबिसे सडकखण्ड र मुिग्लन–नारायणगढ सडकखण्डमा चार्जिङ स्टेशन स्थापना गर्ने कार्य केही महिनाभित्र पूरा हुने र प्राविधिकले सर्भे गर्ने कार्य पनि सम्पन्न गरेको बताए ।

मन्त्री फुयाँलले प्रदेशको विभिन्न जिल्लाको दुर्गम भेगमा रहेका विपन्न परिवारको प्रत्येक खरको घरलाई विस्थापित गरी एक जस्ता घर र एक धारा वितरण गर्ने लक्ष्यका साथ कार्यान्वयन भइरहेको पनि जानकारी दिए ।

उनले एकीकृत सम्पदा विकासलाई सम्वद्र्धन गर्ने उद्देश्यले पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग र चुरियामाईस्थित पुरानो सुरुङमार्गको निर्माण गर्न सरकारले छिट्टै बोलपत्र आह्वान गर्ने अन्तिम चरणमा पुगेको स्पष्ट पारे ।

मन्त्री फुयााँलले जननेता मदनभण्डारी मार्गअन्तर्गत काठमाडौंको बल्खु, मकवानपुरको सिस्नेरी, कुलेखानी, भीमफेदी र भैँसे सडकखण्डको स्तरोन्नती गर्ने कार्यमा अहिले भइरहेको बताए । उक्त सडकमा कालोपत्रे सडक ढलान र तटबन्ध निर्माण गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

उनले प्रदेशको १३ जिल्लाको ६६ निर्वाचन क्षेत्रमा राष्ट्रिय गैरवको आयोजना, एकीकृत सम्पदाको संरक्षण, स्वास्थ्य चौकी, खानेपानीको निर्माण र नदी नियन्त्रणतर्फ बजेट विनियोजन गरी सम्बन्धित निकायमार्फत कार्यसम्पादन भइरहेको पनि उल्लेख गरे ।

मन्त्री फुयाँलले सार्वजनिक सडक तथा परिबहन, पूर्वाधार विधेयक २०७७ बागमती प्रदेशसभामा दर्ता गरिसकेको र सो विधेयकमाथि पुनःबैठकमा छलफलको लागि ल्याउन केही दिनअघि प्रदेशसभाको कार्य परामर्श समितिमा छलफल भइरहेको र आगामी फागुन ५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत हुने कार्यसूचीमा राखिने बताए ।

प्रतिक्रिया