धारिलो हतियार प्रहार गरी ४८ वर्षीया महिलाको हत्या

काठमाडौं । घरमा कोही नभएको बेला बारामा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। बारा महागढीमाई नगरपालिका १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति १० बजे हत्या भएको हो। यो समयमा उनका श्रीमान वैझनाथप्रसाद कुशवाह घरमा थिएनन्। खाना खाएर श्रीमान् बाहिर निस्किएका बखत कान्तिदेवीको हत्या भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

उनीहरू किसान हुन् । ‘खाना खाएर बाहिर घुमफिर गरी फर्किँदा श्रीमतीको शव देखेपछि प्रहरी र गाउँलेलाई खबर गरेका थिए,’ मिश्रले भने। कान्तिदेवीको शव प्यासेजमा फेला परेको थियो। कान्तिदेवीको टाउकोमा गहिरो चोट छ। उनको एउटा गालामा तीखो वस्तुले छेडिएको छ भने एउटा आँखामा पनि चोट छ।

हत्या कसले किन गर्‍यो भन्नेबारे प्रहरीले यकिन गर्न सकेको छैन। उनीहरूका तीन छोरा र एक छोरी सबै काठमाडौंमा बसेर पढ्छन्। ‘कसैसँग दुश्मनी थियो या थिएन भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौं,’ मिश्रले भने। घटनास्थलमा सोमबार बिहानैदेखि कुकुरसहितको अनुसन्धान टोली खटाइएको छ। कान्तिदेवीको शव पोष्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ।

प्रतिक्रिया