काठमाडौं । दोस्रो ‘नाट्यश्वर म्युजिक अवार्ड २०७६’ नुवाकोटको विदुरमा सम्पन्न भएको छ । उक्त कार्यक्रम किरण अधिकारीको संयोजन, प्रल्हाद केसीको सभापतित्व र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा यही २०७७ माघ २५ गते आइतबार सम्पन्न भएको हो ।
‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयेजना गरिएको थियो । ०७६ मै आयोजना गर्नुपर्ने कार्यक्रम विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसका कारण रोकिएर अहिले गरिएको संयोजक अधिकारीले जानकारी दिए ।
साथै, आफू पनि उक्त भाइरसबाट संक्रमित भइ निको भएको पनि उनले बताए । त्यस्तै, कर्यक्रमका अधिकारीले यसभन्दा अगाडिको कार्यक्रम केभ्रे जिल्लाको बनेपामा आयोजना गरिएको पनि जानकारी दिए । आइतबार सम्पन्न उक्त कार्यक्रममा संगीत क्षेत्रका विभिन्न ४८ विधामा अवार्ड वितरण गरिएको थियो । गायन तथा संगीत क्षेत्रबाट मनोनयनमा परेकाहरुमध्येबाट उत्कृष्ट भएकाहरुलाई म्युजिक अवार्ड वितरण गरिएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा लोकदोहोरी गायक विष्णु खत्री, कृष्ण रेउले, गायिका जमुना राना, रमिला न्यौपाने, सविता परियार, मोडल दिपाशा बिसी, टिका जैसी लगायत धेरै कलाकारहरुले अवार्ड प्राप्त गरेका छन् । साथै, कार्यक्रममा कलासंस्कृति संरक्षणमा योगदान पुर्याएको भन्दै नुवाकोटको विदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिका एवं जिल्ला समन्वय समिति र सहयोगी संस्था साकुरा कन्सल्टेन्सीलाई सम्मान समेत गरिएको छ ।
त्यस्तै, कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । उनलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । सोही क्रममा कला एवं रंग पत्रकारितामा कलाम चलाएर संस्कृति तथा संरक्षणमा सहोग गरेको भन्दै आयोजकले विभिन्न सञ्चारमाध्यमका पाँच जना पत्रकारहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुने पत्रकारहरुमा बाबुराम सिग्देल, देवचन्द्र भट्ट, दिपज्योति थापा, निमेष गौतम, र राममणि ढकाल रहेका छन् । आयोजकको तर्फबाट पत्रकारलगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै प्रमुख अतिथि नेता केसीले कलाकारहरु राष्ट्रका गहना भएको र सञ्चार माध्यमले पनि देश विदेशमा सन्देश दिएर थप चिनाउन मद्दत गरेको बताए ।
उनले भने, ‘कलाकारहरुले देशको सौन्दर्य बढाएका छन्, जहाँ पनि गीत संगीतको आवश्यकता पर्दछ र पत्रकारहरुले पनि विभिन्न सञ्चार क्षेत्रबाट कलम चलाएर देशविदेशमा सन्देश दिएर कलाकारहरुलाई चिनाउन मद्दत गरेका छन् ।’ साथै, उनले कलाकारहरुले देश परिवर्तनको लागि पनिमहत्वपूर्ण सन्देश दिएर सत्मार्गमा लैजान सक्ने जिकिर गरे ।
नेता केसीले नुवाकोट आफ्नो गृह जिल्लामा कार्यक्रमको आयोजना गरेर कलाकारहरुलाई अवार्ड वितरण गरेकोमा आयोजकप्रति गर्वको महसुस भएको जनाउँदै आगामी वर्षहरुमा पनि कलाकारहरुलाई जिल्लामा यसरी नै स्वाग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया