काठमाडौं । विश्वभर कोरोनाको महामारी फैलिनुभन्दा अगाडि नेपाली राष्ट्रिय कलाकारहरु सांगीतिक कार्यक्रमको लागि विभिन्न देशमा जाने धेरै लहर थियो । स्वदेशभन्दा विदेशका कार्यक्रमबाट बढी आयस्रोत पनि हुने गर्थ्यो । कतिपय कलाकारहरु विदेशबाटै बढी परिचित पनि भएका छन् ।
तर, यतिबेला भने कोरोनाको कारण विदेशमा भएका नेपालीहरुले कुनै पनि कार्यक्रमको आयोजना गर्न नपाएकोले नेपालबाट कलाकारको आउजाउ ठप्प भएको छ । यस्तै पहिलेदेखि देशदेखि विदेशसम्मका कार्यक्रमहरुबाट आम दर्शक स्रोतामाझ परिचित हुने राष्ट्रिय कलाकार मध्येका लोक गायक सन्तु थापा एक हुन् ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा जन्मिएका थापालाई सानैदेखि कलाकार बन्ने रहर थियो । गाउँघरमा हुने कार्यक्रम र विभिन्न मेला महोत्सवमा सहभागी हुँदै गायन यात्रालाई अघि बढाएको उनले सुनाए । त्यस्तै विभिन्न रोधी क्लवमा हुने प्रतक्ष्य दोहोरी प्रतियोगितामा पनि गीत गाएर प्रथम हुने गायक थापाले सैनिक पारिवारीक वातावरणमा हुर्किएको बताए ।
सांगीतिक यात्राको मोहले तान्दै गएपछि थापा २०६५ सालमा गुल्मीबाट केन्द्रीय राजधानी काठमाडौं प्रवेश गरी संघर्ष गर्दै पहिलो लोकपप ‘आफैँ पनि जानिन कुरा पनि सुनिन’ नामक गीत ०६८ सालमा रेकर्ड गराएका थिए । त्यसपछि क्रमशः अन्य गीतहरु बजारमा ल्याएका उनलाई विदेशका विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीहरुले आयोजना गरेका सांगीतिक कार्यक्रमको लागि जान अवसर मिलेको जानकारी दिए ।
हालसम्म गायक थापा पुगेका देशहरु यूके, अष्ट्रलिया, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, स्पेन, इटली, चेकरिपब्लिक, लग्जम्बर, पोल्याण्ड, मलेसिया, दुबई, भारत लगायत रहेका छन् । जुनसुकै विधाका गीत पनि गाउन अब्ल गायक थापालाई पहिलो गीतले नै गायकको रुपमा चिनाउन सफल भएपछि यस क्षेत्रमा थप उर्जा थपिएको सुनाए ।
देश विदेशमा हुने कार्यक्रमहरुमा धेरै कलाकारहरुबीचमा पनि उनको नाम शिर्ष स्थानमा नै पर्ने गर्दछ । गायक थापाले लोकदोहोरी, आधुनिक, लोकपप, सालैजो, कौडा, झ्याउरे, सोरठी, पञ्चेबाजा, तीज गीत लगायत दर्जनौँ गीतहरु बजारमा ल्याइसकेको जानकारी दिए ।
देशदेखि विदेशसम्म पहिचान बनाएका थापाले भने, ‘देशका र विदेशका कार्यक्रमहरुमा व्यस्तै हुन्छु, विदेशमा रहनुभएका नेपाली तथा दर्शक स्रोताहरुले पनि राम्रैसँग चिन्नुहुन्छ, अब स्वदेशमा अझै सक्रिय भएर अघि बढ्ने पर्यत्नमा छु ।’ साथै, उनले यही माघ ११ गते काठमाडौंमा सम्पन्न ‘नेशनल क्यापिटल २०७७’ मा क्रिटिक्स अवार्ड गायकको अवार्ड हात पारेका छन् । थापाले ‘शिरै चढाउँला’ बोलको मौलिक सोरठी गीतबाट उक्त अवार्ड हात पारेका हुन् ।
अवार्ड प्राप्त गरेपछि उनले आफूमा थप चुनौती थपिएको बताए । यसभन्दा अगाडि पनि विभिन्न तीन वटा अवार्ड प्राप्त गरिसकेको गायक थापाले जानकारी दिए । पछिल्लो समय लोकदोहोेरी क्षेत्रमा बिकृती र बिसंगतीले तिव्र गती लिएकाले सबै कलाकारहरुले मौलिक लोक संस्कृतीको जगेर्ना गरेर नेपालीको पहिचान उच्च पार्नुपर्ने बताए ।
‘यस क्षेत्रबाट मौलिकपन र नेपालको पहिचान खस्कीँदै गएको छ, केही कलाकारहरु मौलिकता जोगाउनुभन्दा गीतलाई तोडमोड गरेर पैसा कमाउको धन्दामा लाग्दा यो अवस्था आएको हो, अब हामी सबै कलाकारले ध्यान दिन आवश्यक छ’, गायक थापाले भने । साथै, उनले यस क्षेत्रमा एकले अर्को कलाकरलाई आदर सम्मान गर्ने चलन नभएको बताए ।
थापाले भने, ‘लोकदोहोरी क्षेत्रमा आदर सम्मान गर्ने चलन नै छैन, एउटै क्षेत्रमा भएपछि एकले अर्कोलाई सकारात्मक रुपमा आदर सम्मान हुनुपर्छ ।’ सानाले ठूला कलाकारलाई आदर सम्मान र ठूलाले सानालाई स्नेह दिए यस क्षेत्रलाई थप उचाइमा पुर्याउन मद्दत हुने उनको धारणा थियो ।
प्रतिक्रिया