डढेलोले मानव बस्ती जोगाउनै हम्मेहम्मे

मनाङ । जिल्लाको नासो गाउँपालिकाको थोचेमा मंगलबार रातीदेखि लागेको आगो निभाउन सकिएको छैन । आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको वडा–६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा–५ थोँचे खतरामुक्त रहेको छ । आगो मानव बस्ती नजिकै आइपुगेकाले निभाउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उनले बताए । उनले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताए ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ । धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी जलेको छ । यो समाचार तयार पार्दासम्म एउटा डाँडो पूरै जलिसकेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । भिरालो भौगोलिक बनावटका कारण आगो निभाउन कठिन भएको उनको भनाइ थियो । आगोको लप्का र ढुंगा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि सय जनाको टोली आगो निभाउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनले भने, ‘अहिले हामी बस्ती जोगाउने प्रयासमा छौँ, बस्तीभन्दा सय मिटर टाढा मात्रै आगो छ ।’ उनले नयाँ दाउराघाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने आशंका व्यक्त गरे ।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुनसक्ने बताए । उनले ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा निभाउन गाह्रो परेको बताए । गौतमले भने, ‘अहिले पनि हामी आगोसँग आगो जुधाएर नियन्त्रणमा लिने प्रयास गर्दै छौँ ।” यसैबीच सदरमुकाम चामे नजिकै तलेखुमा लागेको आगो निभाइएको गौतमले जानकारी दिए ।

यसैबीच थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि स्थानीयवासीहरूले त्रसित भएको बताएका छन् । आगलागीसँगै वन विनाश हुँदा महत्वपूर्ण जडीबुटी नष्ट हुने भन्दै उनीहरूले जंगली जनावरको वास उठेकोमा चिन्ता व्यक्त गरेका छन् । अग्ला पहाडमा रहेको जंगलको आगोले मानव बस्तीलाई जोगाउनुबाहेक निभाउन कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । ११ मंसिरदेखि लागेको आगो पूर्णरूपमा निभाउन नपाउँदै फेरि आगो लाग्नुले मनाङका जंगल जलेर सकिने हो कि भन्नेमा पिर परेको स्थानीय वडाध्यक्ष छिरङ घ्ल्पो पुनेलले बताए । किन र कसले आगो लगाएको हो भन्नेबारे दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

प्रतिक्रिया