महोत्तरीका तीन घरमा आगलागी, लाखौँको क्षति

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–४ सुगा गाउँमा आज दिउँसो आगलागी हुँदा तीन घर जलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार घुर ताप्ने क्रममा हावा चलेर आगोको झिल्को उडेर घरमाथि पर्दा स्थानीय महेन्द्र ठाकुर, रामप्रगास ठाकुर र बौवालाल ठाकुरको फुसको घर जलेर लाखौँको क्षति भएको छ ।

सो आगलगीमा महेन्द्रको घरभित्रको नगद, अन्न, लत्ताकपडा, भाँडाकुडासहित एउटा गाई जलेर मरेको छ भने दुई वटा गाई जलेको छ । रामप्रगास र बौवालालको घरभित्र रहेका नगद, अन्नपात, लत्ताकपडा र भाँडाकुडासहित जलेर नष्ट भएको छ ।

सो आगलागीबाट तीन लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र जलेश्वर नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया