दृष्टान्तचित्र कार्यशाला

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ६ दिने दृष्टान्तचित्र कार्यशालाको आयोजना गरेको छ । प्रतिष्ठानको नक्सालस्थित ग्यालरीमा आइतबारदेखि सुरु कार्यशालामा १० जना कलाकार सहभागी भएका छन् । उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालले साहित्य, ललितकला र नाटकलाई समेटेर कार्यशाला तथा सिर्जनात्मक गतिविधि गर्नुपर्नेमा जोड दिए । उनले बाल साहित्य र ललितकलालाई एउटै थलोमा ल्याउने कार्यले सिर्जनात्मक संयोजन हुने र त्यसले पाठक तथा दर्शकलाई प्रभाव पार्ने विचार व्यक्त गरे । उनले भने, ‘बाल साहित्य र कलालाई एकै थलोमा ल्याएर ललितकला प्रज्ञा–प्रतिष्ठानलाई सराहनीय काम गरेको छ । बाल साहित्यमा चित्रकलाको आवश्यकता बढी नै हुन्छ । बाल साहित्य भनेकै लेखन आधा र चित्रकला आधा हो । त्यसैले चित्रकलाविना बाल साहित्य अपुरो हुन्छ ।’ प्राज्ञ डा. नेपालले कला र साहित्यको संयोजनमार्फत सुन्दर सिर्जना हुने भएकाले आगामी दिनमा भाषा, साहित्य तथा ललितकला प्रज्ञा प्रतिष्ठानले मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा नेपाल व्यावसायिक कलाकार संघका अध्यक्ष आइबी मल्लले व्यावसायिक कलाको महत्व समाजमा पछिल्लो समय झनै बढेर गएको बताए । उनले व्यावसायिक कलालाई कलाको रुपमा नहेर्ने दृष्टिदोषका कारण यो क्षेत्र नै पछाडि परेको जिकिर गरे । उनले यस विधालाई प्रविधिमैत्री बनाउँदै समयानुकूल परिवर्तन गर्दै जानुपर्नेमा जोड दिए । उनले ललितकला प्रज्ञा प्रतिष्ठानले व्यावसायिक कलालाई महत्व दिँदै गएकोमा आभार व्यक्त गरे । उनले भने, ‘कला विकासका लागि राज्यले सही नीति बनाएर लागु गर्नुपर्दछ ।’ कार्यक्रममा साहित्यकार ध्रुव घिमिरेले कला र साहित्यको महत्वका बारेमा चर्चा गरे । त्यस्तै, अग्रज साहित्यकार शान्तदास मानन्धरले बालसाहित्यमा कलाको आवश्यकता महत्वका विषयमा प्रकाश पारेका थिए । अग्रज कलाकार टेकवीर मुखियाले कलाले समहित्यलाई पठनीय बनाउन भूमिका खेल्ने विचार व्यक्त गरे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले समाजमा कला, साहित्य र संस्कृतिले विशिष्ट भूमिका खेल्ने भएकाले यसको महत्वलाई उजागर गर्ने हेतुका साथ कार्यशाला गरिएको बताए । उनले बालसाहित्यमा चित्रकलाको आवश्यकता रहने भएकाले दृष्टान्तचित्रको दायरालाई फराकिलो र व्यपाक बनाउने लक्ष्य राखेर कार्यक्रमको आयोजना गरिएको जिकिर गरे ।

उनले भने, ‘विश्वमा औद्योगिक विकाससँगै उपयोगी कलाको आवश्यकता पनि बढेर गएको छ । यसले ग्राफिक कम्युनिकेसन विधाको क्षेत्रलाई व्यापक र फराकिलो बनाउँदै लगेको छ । साहित्य तथा अन्य सिर्जनात्मक कार्यमा समेत डिजाइन क्षेत्रको महत्व दिनानुदिन बढ्दै जानु र त्यसमा दृष्टान्त कलाको आवश्यकता रहनुले यसको औचित्य बढिरहेको छ । खासगरी सञ्चार माध्यम, पुस्तक, प्रचार–प्रसार र प्रकाशन क्षेत्रका दृष्टान्तचित्रको आवश्यकता बढी नै रहन्छ ।’ कुलपति कर्माचार्यले भने, ‘यस कार्यशालाको मूल उद्देश्य भनेकै बालपुस्तक निर्माणको लागि चित्रकलामा आवश्यक जनशक्तिको क्षमता वृद्धि गर्नु हो । दृष्टान्तचित्रको कार्यशालाको सुरुवात् हामीले गरेका छौँ । यसको महत्वलाई मध्यनजर गर्दै आगामी (२०७८) राष्ट्रिय कला प्रदर्शनीमा दृष्टान्त कला विधालाई पनि समेटेका छौँ ।’

दृष्टान्तचित्रमा समयसापेक्ष रुपमा खासै प्रगति हुने वातावरण नभएपछि यस विधामा काम गर्ने कलाकारलाई सशक्तिकरण गर्दै उत्कृष्टता हासिल गर्ने लक्ष्य राखेर ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिको सचिवालयले कार्यशाला आयोजना गरेको हो । १६ माघसम्म चल्ने कार्यशालामा सहभागी कलाकारले बालसाहित्यकारद्वय रामबाबु सुवेदीले लेखेको अरनिको र विजयराज आचार्यले लेखेका बालकथामा केन्द्रित रहेर चित्र तयार पार्ने प्रतिष्ठानले जनाएको छ । सहभागी कलाकारमध्ये पाँच पाँचको जना दुई समूहले एक एकवटा कथामा आधारित रहेर चित्र बनाउने छन् ।

कुलपति कर्माचार्यले दुवै समूहबाट तयार पारिएका उत्कृष्ट चित्रलाई समेटेर आगामी वर्ष पुस्तक प्रकाशित गर्ने लक्ष्य ललितकला प्रतिष्ठानले राखेको बताए । उनले दृष्टान्तचित्रसम्बन्धी कार्यशाला हरेक वर्ष आयोजना गर्ने बताउँदै थपे, ‘दृष्टान्तचित्र बनाउने कलाकारको गुणात्मक क्षमता अभिवृद्धिसँगै संख्यात्मक रुपमा पनि वृद्धि गरी हरेक वर्ष बालसाहित्यमा केही इँटा थप्ने प्रयास गर्ने कोशिस गर्नेछौं ।’

लिखित सामग्रीलाई सहज ढंगले बुझाउनका लागि बनाइने चित्रकलालाई दृष्टान्तचित्र भनिन्छ । नेपालमा यसको प्रयोग ऐतिहासिक ग्रन्थमा गरिँदै आएको पाइन्छ । प्राज्ञपारमिता, विभिन्न धार्मिक ग्रन्थ लगायतलाई पठनीय र संप्रेषणीय बनाउन चित्रको प्रयोग गरिएको छ । पछिल्लो समय पत्रपत्रिका, पुस्तक, पोस्टर, पर्चा पम्प्लेट, प्रचार प्रसार लगायतका सामग्रीमा दृष्टान्तचित्रको प्रयोग गरिँदै आएको पाइन्छ । उक्त कार्यशालामा रवीन्द्र मानन्धर, कृष्णगोपाल श्रेष्ठ, भानु भट्टराई, विनिता बुद्धाचार्य, पल्पसा डंगोल, उमेशचन्द्र अधिकारी, आरके थापा, सुमन महर्जन लगायतका कलाकार सहभागी छन् ।

प्रतिक्रिया