रक्त सञ्चार मोरङद्वारा २६ हजार पिन्ट बढी रगत संकलन

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाअन्तर्गत सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवाकेन्द्रले आव ०७६/७७ मा २६ हजार पिन्ट बढी रगत संकलन गरेको छ । सो संस्थाले उक्त आवमा २२ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेकोमा त्योभन्दा बढी २६ हजार ४ सय ३१ पिन्ट रक्त संकलन गरेको हो । सो अवधिमा संस्थाले २७ हजार ६ सय ६४ पिन्ट स्वस्थ्यकर रगत बिरामीहरूलाई उपलब्ध गराइएको समेत जनाइएको छ । रक्त सञ्चार सेवा दिवसको अवसरमा मंगलबार जिल्ला रेडक्रसले विराटनगरमा आयोजना गरेको कार्यक्रमकाबीच सो विषयमा जानकारी गराइएको छ ।

क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रले विराटनगरस्थित आफ्नो भवनबाट सेवा सुरु गरेको दिनलाई रेडक्रस मोरङले प्रत्येक वर्ष रक्त सञ्चार सेवा दिवसको रूपमा मनाउँदै आएको छ । ०४४ सालबाट आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गरेको केन्द्रले ३२ वर्ष पूरागरी ३३ वर्षमा प्रवेश गरेको अवसरमा रक्त संकलनमा सहयोग पु¥याउने संघसंस्थालाई पुरस्कृत तथा सम्मानितसमेत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक केदार कार्की तथा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुबोध सिंह लगायतले रक्त संकलनमा सहयोग पु¥याउने उत्कृष्ट संघसंस्थालाई पुरस्कार तथा सम्मान हस्तान्तरण गरे ।

सो क्रममा उत्कृष्ट रक्तदाता संस्थाहरूमध्ये सर्कल समूहतर्फ शिवशक्ति माध्यमिक विद्यालयलाई प्रथम पुरस्कार प्रदान गरिएको छ । यसैगरी नेरोस उपशाखा, सहयोग समितितर्फ उर्लाबारी उपशाखा प्रथम तथा संघसंस्थातर्फ सबभन्दा बढी रक्त संकलन गरेर लायन्स क्लब अफ विराटनगर रानी प्रथम भएको छ ।

 

प्रतिक्रिया