उत्पादन बढाउन माटो परीक्षण सप्ताह

स्याङ्जा । कृषकको उत्पादनमा कमी आउन थालेको गुनासो आएपछि आँधीखोला गाउँपालिकाले माटोको उत्पादकत्व पहिचान गर्न माटो परीक्षण सप्ताह सम्पन्न गरेको छ । गाउँपालिकाले ६ वटै वडाका किसानको खेतीयोग्य जमिनमा माटोको नमुना संकलन गरेर परीक्षण गरेको हो । अन्नबालीको उत्पादनमा वृद्धि गराउन र माटो सुहाउँदो बाली पहिचान गर्न माटो परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । माटोमा बढीमात्रामा अम्लीयपन देखिएको कारण सुधारको प्रयास सुरु गर्ने कृषि प्राविधिक विवेक आचार्यले बताए । उनले भने, ‘माटोेको सुधार गर्न यो परीक्षणको थालनी गरेका छौँ, अम्लीयपन निराकरण गर्न चुनलगायत आवश्यक सामग्री वितरण गर्ने हाम्रो अभियान छ ।’

माटो परीक्षणको रिपोर्टअनुसार उत्पादकत्व वृद्धि गर्न कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली लगाउने विधि जानकारी गराउने र निःशुल्क रूपमा चुन वितरण गर्ने पालिकाको लक्ष्य रहेको छ । पालिकालाई कृषिमा आत्मनिर्भर बनाउनको निम्ति पहिला समस्या पहिचान गर्न माटो परीक्षण गरिएको आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । उनले भने, ‘यो अभियानले माटो सुहाउँदो खेतीको समेत पहिचान हुने भएकोले परीक्षणपश्चात भूगोलअनुसार कृषि लक्षित कार्यक्रम अघि सार्नेछौँ ।’ यसअघि पालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर, बिउवीजन लगायतका कृषि सामग्री वितरण गरिएको पौडेलले बताए ।

आँधीखोला र फेदीखोला गाउँपालिकाले आफ्नो पालिकाभित्र उत्पादन भएका कृषिउपज खरिद बिक्री गर्न पोखरामा साझेदारी संकलन केन्द्र स्थापना गरेको बताउँदै अध्यक्ष पौडेलले भने, ‘कृषि उपजको उत्पादनमा वृद्धि गर्ने हाम्रो लक्ष्य हो, उत्पादन बढी भए बजारको ग्यारेन्टी हामी गर्छाैं ।’

यहाँको सात सय बढी कृषकको खेतबारीबाट नमुना संकलन गरिएको थियो । आवश्यक मात्रमा चाहिने नाइट्रोजन, फस्फोरस र पोटासको कमी र अम्लीयपनको मात्रा बढी भएको कारण कृषकलाई चुन वितरण प्राथमिकतामा राखिएको छ । आवश्यक मल र निःशुल्क कृषि परामर्श पालिकाले उपलब्ध गराउने जनाएपछि यहाँका कृषकसमेत खुसी भएका छन् । माटो परीक्षणको फाइदाबारे गाउँपालिकाले सबै वडावासीलाई जानकारी गराएपछि नमुनाको रूपमा माटो परीक्षण गर्न यहाँका कृषकहरू पनि आकर्षित भएका हुन् ।

प्रतिक्रिया