सीमानाका बन्द भएपछि चोरबाटोको प्रयोग

सर्लाही । भारतसँग खुल्ला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन् ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ गतेबाट देशव्यापी लकडाउनको घोषणा गरेसँगै सिमानाका बन्द गरिएको थियो । सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी किनमेललगायत आफन्तलाई भेट्न जाँदासमेत पुलमुनि, खोलाको बाटो तथा चोरबाटो प्रयोग गर्न बाध्य भएका छन् ।

व्यवहारमा भने सीमा खुला नै छ । पुलमुनि र आसपासबाट नदी तरेर आवतजावत भने रोकिएको छैन । पहिलाका सञ्चालित पुल सडकका नामको मात्र सीमानाका बन्द गरिँदा स्थानीयवासी मारमा परका छन् । जिल्लाको ब्रह्मपुरीमा रहेको झिम नदीमा रहेको पुल बन्द भए पनि सर्वसाधारण पुलमुनिको खोलाबाट आवतजावत गर्न गर्दछन् ।

सर्वसाधारणलाई खोला, चोरबाटो र पुलमुनिबाट आवतजावत गर्दा सुरक्षाकर्मीको त्रास उत्तिकै रहेको छ । दैनिक उपभोग्य वस्तु, कपडालगायत सामान भारतीय बजार सुनवर्षाबाट चोर बाटो हुँदै नेपालतर्फ आउने गरेको छ ।

साँझ र बिहान साइकल, मोटरसाइकल तथा ठूलाठूला पोका बनाएर टाउकोमा बोकेर व्यापारीको सामान तस्करी गर्नेहरू सर्लाहीका विभिन्न बजारसम्म पुग्ने गरेका छन् ।

प्रदेश २ का आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । नाका खुलाउन सर्लाहीसहित प्रदेश २ का जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले सीमामै धर्नासमेत दिएका थिए ।

सीमा बन्द हुँदा दैनिक उपभोग्य सामानको मूल्य बढ्नाका साथै औषधि उपचारमा पनि समस्या भएको नेपाल–भारत खुला सीमा संवाद समूहमा रहेका जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।

सीमा बन्दकै कारण छोरी, चेली माइती र ससुराली आवतजावत गर्दा अपमानित भएको र वारिपारि आफन्तको जन्ती र ममीला जान पनि समस्या भइरहेको उनको भनाइ छ । सीमा बन्दले दैनिक जनजीवनसँगै जिल्लामा व्यापारव्यवसायसमेत प्रभावित भएको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए ।

चौसट्ठी किलोमिटर खुल्ला सिमाना रहेको सर्लाहीमा अधिकांश स्थानमा खेतको बाटोमा समेत प्रयोग बढेको छ । सिमानामा दुवै देशका सुरक्षकर्मीहरु तैनाथ रहेका छन् । दैनिक उपभोग्य सामग्री खरीदका लागि तराईका जिल्लाका स्थानीयवासी भारतीय बजारमा जाने गर्दछन् ।

सीमानाका बन्दका बहानामा नेपाली बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्यमा पनि वृद्धि भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् । सीमानाका बन्दका बहानामा तराईका जिल्लामा चोरी तस्करी बढेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया