प्रचणडकै कारण संसद् विघटन : गृहमन्त्री थापा

कालिकोट । केपी शर्मा ओली निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बृहत् आमसभा कालिकोटमा सम्पन्न भएको छ । नेकपा कालिकोटका सचिव तथा केन्द्रीय सदस्य नगेन्द्र शाहीको अध्यक्षता, नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यता तथा नेता यामलाल कँडेलको विशेष आतिथ्यतामा कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र एकताको विरुद्धमा बोलेकै कारण संसद् विघटन भएको आरोप लगाएका छन् । थापाले भने प्रचण्डसँग यतिका वर्ष सँगै काम गर्दै आउँदा समयसमयमा आफु हावी हुन खोजे, पार्टीको नियमलाई उल्लंघन गरेपछि यस्तो अवस्था नेकपामा आएको बताएका हुन् ।

नेकपाका नेता यामलाल कँडेलले प्रचण्ड–माधव समूह सडकमा उत्रिएर विरोध सभा तथा र्याली गरे पनि नेकपालाई झन् मजबुद बनाएर लैजाने बताएका छन् । उनले भने, ‘सरकारलाई बेला–बेला अप्ठ्यारोमा पार्ने काम प्रचण्डले गर्दा केपी शर्मा ओलीले संसद् विघटन गर्नुपर्ने निर्णय लिएका हुन् । सरकार अप्ठ्यारोमा पर्दा सिंगो मुलुक नै समस्यामा पर्ने भएकाले नेकपा फुट्नु कुनै ठुलो कुरा नभएको र आगामी चुनाबमा यसको परिणाम देखिनेछ ।’ कार्यक्रममा सभाध्यक्ष तथा नेकपाका नेता नगेन्द्र शाहीले ओली समूहको नेकपाले नै अब देश राजनीतिक अवस्था परिवर्तन गरी सिंगो मुलुकमा नेकपाको इतिहास कमजोर नहुने बताउँदै गाउँस्तरबाट नेकपाको सपोर्टमा नागरिकहरू रहेको बताएका छन् ।

गृहमन्त्री राम बहादुर थापा (बादल) कालिकोट आउँदा प्रचण्ड–माधव समूहले चुलुस निकाली कालो बेलुन र झण्डा देखाएका थिए भने त्यसपश्चात टायर बालेर विरोध जनाएका थिए । उक्त समूहले केपी ओली समूहकै ¥याली अगाडि विरोध जनाएका थिए । गृहमन्त्री थापाको विरोधमा दाहाल–नेपाल पक्षले अनेकौँ किसिमको बिरोध तथा नाराबाजीसमेत गरेका थिए । नेकपा विभाजनपछि सरकारका मन्त्रीहरू सरकारी कार्यक्रमभन्दा पार्टीका गतिविधिमा बढी सक्रिय बन्दै आएका छन् । बिरोध र्यालीमा अनेरास्ववियूका जिल्ला संयोजक मनसपंह शाही, बिद्यार्थी नेता हिक्मतजंग मल्ल राष्ट्रिय युवा संघ नेपालका गणेश शाही, हस्त शाहीलगायत प्रचण्ड–माधव समूहका थुप्रै नेता तथा कार्यकर्ताकोसमेत उपस्थित रहेको थियो ।

गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्नसक्ने संकेत गरेका छन् । प्रेस संगठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भर पर्ने बताए । ‘वैशाखमा चुनाव गराउन सरकार तयारी अवस्था छ । निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन, उनले भने, ‘अदालतको फैसला कुरिरहेका छौँ । अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ होला । अदालतले सरकारको निर्णय सदर गर्छ होला ।’ गृहमन्त्री थापाले नेकपा दुई भागमा विभाजन भएको र हिजोको निर्वाचन आयोगको निर्णयले विगतको पार्टीलाई आधिकारिकता दिएका कारण आगामी निर्वाचनमा चुनाव चिह्न र पार्टीका विषयमा कानुनी जटिलता आउन सक्ने बताए । ‘चुनाव चिन्ह र पार्टीका विषयमा निर्वाचन आयोगले पुरानै पार्टीलाई निरन्तरता दिएको छ’, उनले भने, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक ठाउँमा ल्याउन अहिले सम्भव छैन ।’

नेत्रविक्रम चन्द समूहलाई प्रशासनिक र राजनीतिक तवरबाट नियन्त्रण गर्ने राज्यको नीति भएको जनाउँदै उनले उनीहरूलाई मूलप्रवाहमा आउन आग्रह गरे । निर्मला पन्तको प्रकरणमा अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने पनि गृहमन्त्री थापाले बताए । ‘कैयौँ घटनाबारे टुंगोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’, उनले भने, ‘सो घटनाका दोषीका विषयमा पनि अनुसन्धान जारी छ । ढिलोचाँडो दोषी पत्ता लाग्नेछ ।’ माओवादी जनयुद्धका क्रममा भएका अपांगता तथा सहिद परिवारको रोजीरोटीका विषयमा सरकार सचेत र उनीहरूको व्यवस्थापन गर्न सरकारले निर्णय गरेको गृहमन्त्री थापाले जानकारी दिए । उनले प्रतिनिधिसभा पुनःस्थापना गर्दा देश प्रतिगमनतिर धकेलिने खतरा औँल्याउँदै ताजा जनादेशमै जानु राजनीतिक स्थायित्वका दृष्टिले उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया