बुधबारबाट खोप अभियान

काठमाडौं । सरकारले माघ १४ गतेबाट देशभर कोरोनाविरुद्धको खोप अभियान शुरु गर्ने भएको छ । बुधबार विहान १० बजेबाट खोप लगाउन शुरु गरिने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । खोपको पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई लगाइने भएको हो । ‘कोरोना खोपको प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ हुनेछ । खोप प्राथमिकतामा रहेका व्यक्तिहरुलाई लगाइनेछ’, मन्त्री त्रिपाठीले भने, ‘सातैवटा प्रदेशहरुमा रहेका अस्पताल र काठमाडौंका रहेका प्रमुख अस्पतालहरु भर्चुअल रुपमा जोडिएर कार्यक्रम सुरु हुनेछ ।’ आइतबार अपरान्हसम्म पाँच प्रदेशमा खोप पुगिसकेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सोमबार मात्रै खोप पुग्ने मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्री त्रिपाठीका अनुसार सात प्रदेशका ६२ वटा अस्पताल र १२० खोप केन्द्रबाट खोप लगाइने छ । खोप अभियान माघ १८ गते भित्र ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट समेत हुनेछ । ‘प्रथम चरणको खोप १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो अभियानमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य छ’, मन्त्री त्रिपाठीले थपे ।

प्रथम चरण अन्तर्गत फोहर व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स शव वाहनका चालक–सहचालकहरु, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकहरु, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, महिला स्वयंसेविका, वृद्धाश्रममा रहेकालाई खोप लगाइने छ । स्वास्थ्यमन्त्रीले प्रथम चरणको खोप अभियान सक्नुभन्दा अगाडि नै नयाँ खोप पाइसक्ने विश्वास व्यक्त गर्दै यो अभियानको निरन्तरता हुने बताए । मन्त्री त्रिपाठीले विश्वभर कोरोना विरुद्धको खोपको माग तिव्र रहेको समयमा सरकारको प्रयास र भारतको सहयोगले खोप प्राप्त भन्दै खोपको समुचित प्रयोग गरी खेर जान नदिने पनि बताए ।

मन्त्री त्रिपाठीले नेपाललाई प्राप्त भएको खोप अक्स्फोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्त रुपमा विकास गरेको र भारतमा रहेको सेरम इन्टिच्युटले उत्पादन गरेको जानकारी दिँदै उक्त खोपको तेस्रो चरणको ट्रायल पनि भइसकेको जानकारी दिए । उनले उक्त खोप निर्धक्क भएर लगाउन सबैलाई आग्रह समेत गरे । मन्त्री त्रिपाठीले लक्षित समुहलाई मात्र खोप उपलब्ध गराउन सम्बन्धित संस्थाले खोप लगाएका व्यक्तिको सूची तयार गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।

प्रतिक्रिया