पूर्वलडाकुलाई प्रधानमन्त्रीले भने, ‘तपाईहरू ढुक्क हुनुहोस, विगतमा जस्तो धोका पाउनुहुने छैन

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाको ओली पक्षीय अध्यक्ष केपी शर्मा ओलीले माओवादीका पूर्वलडाकु कमान्डरहरूसँग भेट गरेका छन्। आज आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर उनले पूर्व लडाकु कमान्डर लगायतहरुसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

‘पूर्व जनमुक्ति सेनाका कमान्डरहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्नुभएको छ।’ जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको भन्दै प्रधानमन्त्रीले नेतृत्वले तपाईहरूका भावनाको दुरूपयोग गरेको बताएको थापाले उल्लेख गरेका छन्।

‘यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ। यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस,’ ओलीको भनाई उधृत गर्दै थापाले लेखेका छन्, ‘हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं। नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन।’

पूर्व जनमुक्ति सेनालाई तत्कालीन जनयुद्धको नेतृत्वकर्ता नेकपाको दाहाल नेपाल पक्षीय अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व माओवादी लडाकुका कमान्डरहरुलाई बोलाएर भेटेका हुन्। राजनीतिक रुपमा नेकपा विभाजन भएपछि पछिल्लो समय गृहमन्त्री एवम् ओली पक्षीय सचिवालय सदस्य रामबहादुर थापाले पनि पूर्व जनमुक्ति सेनालाई आफ्नो पक्षमा पार्न छलफल गरिरहेका थिए।

प्रतिक्रिया