हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त

हुम्ला । हिमाली जिल्ला हुम्ला कोरोना संक्रमणमुक्त भएको छ । यसअघि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका संक्रमितको एन्टिजेन किटबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना संक्रमणमुक्त जिल्ला भएको हो । जिल्लामा एकजना सिटिजन्स बैंककी कोरोना संक्रमित महिला कर्मचारी कोरोनाको बिहीबार बेलुका कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँदा हुम्ला जिल्ला कोरोनामुक्त बनेको अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । उनको एन्टिजिन किटबाटै कोरोना परीक्षण गरिएको थियो । कोरोना संक्रमण भएको १३ दिनपछि उनको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक जना महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष कर्मचारीलाई केही दिन अगाडि हेलिकोप्टर चार्टर गरेर जिल्ला बाहिर काठमाडांै लगिएको थियो ।

संक्रमित ती महिलाको अवस्था सामान्य भएको कारण होम आइसोलेसनमा रहँदै आएकी थिइन् । कोरोना रिर्पोट नेगेटिभ आएसँगै उनी कोरोनामुक्त हुनुका साथै हुम्ला पनि कोरोनामुक्त जिल्ला बनेको छ । लामोसमय कोरोना संक्रमणका हिसाबले ग्रिन जोनका रूपमा रहेको हुम्ला जिल्लामा गत असोज यता जिल्लाभरि ९१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती सबै निको हुँदा हाल संक्रमित संख्या शून्यमा झरेको हो । गत असोज ३ गते हुम्लामा पहिलोपटक नेपालगञ्जबाट हवाईजहाजमा आएकी युवतीमा कोरोना देखिएको थियो ।

त्यसपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक र विधार्थीमा कोरोना संक्रमण देखिएको थियो । हुम्लाका सात वटा गाउँपालिका मध्य अहिलेसम्म चार वटा नाम्खा सिमकोट, सर्केगार्ड र ताँजाकोट गाउँपालिकामा संक्रमित देखिएका छन् भने बाँकी तीन वटा खार्पुनाथ, अदानचुली र चंखेली गाउँपालिका कोरोना संक्रमण नदेखिएका गाउँपालिकाका रूपमा छन् ।

प्रतिक्रिया