ब्यापार घाटा साढे ६ खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँबराबरको व्यापारघाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको तथ्यांकले सो परिमाणमा ब्यापार घाटा देखिएको बताएको हो । गत वर्षको पहिलो ६ महिनामा मुलुकको व्यापार घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड ४० लाखको हाराहारीमा थियो । यो अवधिमा नेपालमा कुल ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ४.८१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ६ महिनामा नेपालमा कोरोनाको कुनै पनि प्रभाव थिएन ।

परिस्थिति सामान्य रहेको अवस्थाकै हाराहारीमा आयात पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ । आव २०७६÷७७ मा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस अवधिमा निर्यात भने सामान्य वृद्धि भएको छ । ६ महिनामा नेपालबाट ६० अर्ब ७९ करोड ९९ लाख रुपैयाँ बराबरको वस्तु विदेश निर्यात भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ६.१४ प्रतिशतले बढी हो । अघिल्लो आवको यस अवधिमा ५७ अर्ब २७ करोड ७९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

तथ्यांक अनुसार ६ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार ७ खर्ब २२ अर्ब ४ करोड पुगेको छ । कुल वैदेशिक व्यापारको आकार समेत अघिल्लो आवको तुलनामा ३.९८ प्रतिशतले घटेको छ । आयातमा सामान्य कमी आउँदा यसले कुल व्यापारको आकार समेत घटाइएको छ । यस अवधिमा भएको आयात र निर्यातका आधारमा व्यापार घाटामा सामान्य सुधार देखिएको हो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र शुन्य दशमलाव ८७ प्रतिशतले घटेको छ ।तथ्यांक अनुसार यो अवधिमा नेपालमा ८० अर्ब ६० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ भने १९ अर्ब बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । आइरन र स्टीलको आयात ६३ अर्ब ४८ करोड बराबरको भएको छ ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोहीकारण व्यापार घाटा समेत सोही मुलुकसँग बढी छ । तथ्यांक अनुसार ६ महिनाको अवधिमा नेपालमा भारतबाट ४ खर्ब ३८ अर्ब ८२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसअवधिमा निर्यात भने ४३ अर्ब ५२ करोड बराबरको भएको छ ।यसले व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड देखिएको छ । चीनतर्फ मात्र ५० करोडको सामान निर्यात हुँदा ९६ अर्ब ३२ करोड बराबरको वस्तु आयात भएको छ । चीनसँग ९५ अर्ब ८१ रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ ।

प्रतिक्रिया