सोरु तातोपानीमा नुहाउनेको भिड

मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालिका–५ जिमामा सोरु तातोपानी छ । सोरु तातोपानीमा स्नान गर्न र रोगबिराम हट्ने विश्वासले विभिन्न जिल्लादेखि मानिसहरू सोरु तातोपानी आउने गर्दछन् । यहाँ स्नान गरे बाथ रोग, छाला चिलाउने, अनुहारको चायापोतो पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ । सामान्य बिरामी, शरीर दुख्ने, टाउको दुख्ने शरीरका गाँठागुठी दुख्ने विराम लागे सोरु तातोपानी कुण्डमा स्नान गरेमा निको हुने स्थानीय बताउँछन् ।

सोरु तातोपानी कुण्ड जुम्ला तातोपानीभन्दा राम्रो भएको जानकाहरू बताउँछन् । सोरु तातोपानीमा जिल्लाभित्र मात्र नभई जिल्लाबाहिर, जुम्ला, हुम्ला, बाजुरा कालीकोट, दैलेख लगायतका पर्यटकहरू यस तातोपानीमा स्नान गर्न आउने गरेका स्थानीय हर्क जैशीले बताए । विशेषगरी बुढापाकाहरूलाई तातोपानीले धेरै फाइदा गरेको जैसीको भनाइ छ । सोरु तातोपानीमा तल कर्णालीको छाल नजिकै एक तातोपानीको पोखरी छ भने त्यसभन्दा माथि दुई वटा धारा निर्माण गरिएका छन् । तर, तातोपानी कुवा र बनाइएका धारा व्यवस्थित छैनन् ।

पोखरी पनि ठूलो हुनुपर्ने र धारा पनि महिला पुरुष फरक हुनुपर्ने तातोपानी स्नान गर्न गएका अजबहादुर शाहीले बताए । पोखरी पनि व्यवस्थित नभएको र धारा पनि एक पानी आउने र एक नआउने भएकाले सबैले यस्ता पर्यटकीय क्षेत्रको संरक्षण गनुपर्ने शाहीले बताए । सोरु तातोपानी कुण्ड पर्यटकको पखाईमा छ । सो प्रमुख पर्यटकीयस्थल भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । रारा आउने पर्यटकका लागि पुग्नैपर्ने स्थान स्नान गर्नैपर्ने पर्यटकीयस्थल सोरु तातोपानी पनि एक हो । सोरु तातोपानीमा पर्यटक भित्र्याउन सोरु गाउँपालिकाले खासै चासो देखाएको पाइँदैन ।

सोरु गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल सोरु तातोपानी भएकाले यसको प्रचारप्रसार गरी सोरु तातोपानीमा पर्यटक भित्र्याउनसके सोरु गाउँपालिकाको आर्थिकमा टेवापुग्ने जानकारहरू बताउँछन् । यसैबीच अर्को रोचक कुरा सोरु तातोपानीमा विभिन्न समयको पूर्णिमाको अवसर पारेर तातोपानीमा मेला लाग्ने गर्दछ । विशेष गरी भलो पूर्णिमामा विशेष मेला लाग्ने र देउडा लगायतका कार्यक्रम गरी रमाइलो गर्ने गरिन्छ तातोपानीमा, वैशाख पूर्णिमा, साउन पूर्णिमा र भैलो पूर्णिमामा विशेष मेला लाग्ने गर्छ । तातोपानीमा स्नान गरी पाप कटाउने रोगबिराम हट्ने विश्वासका साथ मेलामा रमाइलो गर्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया