संसद विघटनविरुद्ध वडास्तरीय प्रदर्शनमा सहभागी हुन देउवाको अपील

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडास्तरीय प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् । बुधवार जारी गरिएको विज्ञप्तिमा प्रतिनिधि सभा विघटनको घटनाविरुद्ध कांग्रेसले बिहीवार आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरिएको छ ।

‘के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६,७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।

उनले विज्ञप्तिमा थपेका छन् – ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमत छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

प्रतिक्रिया