पिएम कप पुरुष क्रिकेट : गण्डकीको पहिलो, बागमतिको दोश्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो दोस्रो खेलमा गण्डकीले प्रदेश नम्बर–१ लाई २ विकेटले पराजित गरेको हो । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको १०३ रनको विजय लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि ओपनर अर्जुन कुमाल र दीपक डुम्ररेले समान ३५÷३५ रनको योगदान गरे । त्यस्तै, अभिशेक थापाले १२ रन बनाए । बलिङतर्फ प्रदेश–१ का लागि मनीष थापा र सुभान्कर उरोले समान २÷२ विकेट लिए । त्यस्तै, दिपेश कँडेल र हेमन्त राइले समान १/१ विकेट झारे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २७ ओभर ४ बलमा अलआउट हुनुअघि १०२ रन बनाएको थियो ।
प्रदेश १ का लागि कप्तान सिदान्त लोहनीले सर्वाधिक २४ रनको योगदान गरे । त्यस्तै, मनीष थापाले २२ रन बनाउँदा दीपक पासवानले ११ रन जोडे । बलिङतर्फ गण्डकीका लागि विशाल पौड्यलले ह्याट्रिकसहित चार विकेट लिए । ६ ओभर ४ बल बलिङ गरेका उनले सो सफलता हात पारे । उनले २८औँ ओभरमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए । त्यस्तै, सुवास भण्डारीले ४ विकेट लिन सफल भए । गण्डकीका लागि विपीन खत्रीले २ विकेट लिए ।

प्रदेश–१ प्रतियोगिताको आफ्नो पहिलो खेलमा नै पराजित हुन पुगेको हो । यसै गरी सोही प्रतियोगिता अन्तर्गतको अर्को खेलमा बागमती प्रदेशले लगातार दोश्रोे जित हात पारेको छ । बागमतीले सुदूरपश्चिम प्रदेशलाई १८० रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९९ रन बनाएको थियो । जसमा ९४ बल खेलेका पृथु बास्कोटाले १० चौका र २ छक्काको मद्दतले ८४ रन बनाए । यस्तै ओपनर आदिल खानले ८६ बल खेल्दै १० चौका मद्दतमा ६३ रन बनाए ।

६० रन हुँदा ओपनर आकाश थापा र पारस खड्कालाई गुमाएपनि आदिल र पृथुले तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै ईनिङ्स अघि बढाएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोड्दा पारस खड्काले २०, ईशान पाण्डेले १७ , आकाश थापाले १३ रन जोडे । रामनरेश गिरी १० रनमा अविजित रहे सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । यस्तै भोजराज भट्ट र सन्तोष भट्टले २/२ र विनोद लामाले १ विकेट लिए ।

यता ३०० रनको लक्ष्य पच्छयाएको सुदूरपश्चिम बागमतीका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि २१ ओभरमा ११९ रनमै अलआउट भयो । सुदूरपश्चिमका लागि नारायण जोशीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । यस्तै अर्जुन साउदले ३१ र किरण ठगुन्नाले २४ रन बनाए । बलिङतर्फ बागमतीका रामनरेश गिरीले ४ र नन्दन यादवले २ विकेट लिए । आइतबार भएको खेलमा साविक विजेता नेपाल पुलिसलाई ७ विकेटले पराजित गरेको बागमती लगातार दोसो जित हात पारेको छ ।

प्रतिक्रिया