दैलेख । जिल्लाको भैरवी गाउँपालिका–३ र चामुण्डाविन्द्रासैनी नगरपालिका–४ जोड्ने पादुका खोलामा पुल बनेपछि यस क्षेत्रका बासिन्दाको दैनिकी सहज भएको छ । पुल निर्माण नहुँदा काठको पुल बनाएर ओहोरदोहोर गर्ने स्थानीयवासीलाई पुल बनेपछि ढुक्कले हिँड्न पाएको गडाजीउला झोलुंगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर केसीले बताए । उनका अनुसार पुल नहुँदाको समयका काठको लाप्कोबाट नागरिकहरू वारपार गर्ने गर्थे ।
त्यो पनि खोलाले बगाएपछि वर्षात्को समयमा मध्यपहाडी राजमार्गको पादुको खोलामा निर्माण गरिएको पुलबाट हिँड्नुपर्ने र समय धेरै लाग्ने समस्यामा रहेको भन्दै स्थानीयलाई पुल निर्माणले खुसी तुल्याएको बताए । उक्त पुल बनेपछि बालबालिहरूका लागि ठुलो जोखिम कम भएको छ ।
भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले झोलुंगे पुल निर्माणका लागि संघीय सरकारको ९३ प्रतिशत, पाँच प्रतिशत गाउँपालिका र दुई प्रतिशत स्थानीयको गरी कुल २८ लाखमा झोलुंगे पुल निर्माण भएको बताए । उनले योजना छनोटको चरणमा पुल निर्माणको योजना आए बमोजीम संघिय सरकारलाई अनुरोध गरिएको र त्यसै बमोजिम पुल निर्माण भएको बताएका छन् ।
दैलेख
प्रतिक्रिया