सुनका गहना र झोला लुट्ने दुई युवा पक्राउ

पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुटेर भाग्ने क्रममा पर्वतमा दुई अभियुक्त पक्राउ परेपछि यस्तो गिरोह सक्रिय रहेको पाइएको हो ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ अमलाचौरका २३ वर्षीय शिव विश्वकर्मा र २० वर्षीय सागर सापकोटा रहेका छन् । अभियुक्तले प्रयोग गर्दै आएको प्रदेश २–०३–०१०–प–१५०३ नंको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले पुस २९ गते मोदी गाउँपालिका–८ पाउदीखेत भन्ने ठाउँमा सडकमा हिँडीरहेकी सोही ठाउँकी ७० वर्षीया महिलाको नगदसहितको झोला चोरी गरेर भागेका थिए । स्कुटर चढेर हिँडेका दुई अपरिचित व्यक्तिले महिलाको झोला खोसेर भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिका–११ पकुवास्थित सार्वजनिक स्थानमा उनीहरुलाई फेला पारेका थिए ।

उनीहरुको साथबाट चोरी गरेको १९ हजार १३० रुपैयाँ, झोला, चोरी गर्न मानिसलाई लठ्याउन प्रयोग गर्ने क्लोरोफर्म नामक रसायन तथा कैँचीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

अस्पतालमा शल्यक्रियापूर्व बिरामीलाई बेहोस पार्न प्रयोग गरिने औषधिसमेत बरामद गरिएका कारण अभियुक्तले यस्तो औषधि प्रयोग गरी लुटपाट गर्दै आएको हुनसक्ने उहाँले बताउनुभयो । छिमेकी बागलुङमा औषधि सुँघाएर लुटपाट भएका घटना यसअघि सार्वजनिक भएका थिए ।

जलजलामा विदेशबाट फर्केका युवालाई अनुदान

पर्वतको जलजला गाउँपालिकाले विदेशबाट फर्किएका युवालाई व्यवसाय सञ्चालन गर्न अनुदान वितरण गर्ने भएको छ । कोभिडका कारण रोजगारी गुमेर फर्किएका युवालाई साना तथा घरेलु उद्यम, कृषि, पशुपालन, फलफूल खेती, ब्लक उद्योगलगायतका क्षेत्रमा लाग्न चाहेमा प्रविधि सहयोग गर्ने जनाइएको छ ।

गाउँपालिकाले युवालाई व्यवसाय सञ्चालन गर्न चाहेमा माघ १७ गतेभित्र निवेदन दिन आह्वान गरेको छ । जलजला गाउँपालिकामा कोभिडका कारण रोजगारी गुमेर फर्किएका युवाको सङ्ख्या करिब ४०० रहेको अनुमान छ ।

रोजगारी गुमेर फर्केका युवालाई व्यवसाय गर्न चाहेमा योजनासहित निवेदन दिन अनुरोध गरिएको प्रमुख प्रसाशकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । उनले विदेशबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्न अनुदानमुखी कार्यक्रम ल्याइएको बताए ।

तत्कालका लागि गाउँपालिकाले अनुदान वितरण गर्न दुई लाख रुपैयाँ उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ । युवाको सङ्ख्या र मागका आधारमा अर्को वर्षदेखि बजेट बढाउने तयारी रहेको उनको भनाइ छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिकाले चालु वर्षको नीति तथा कार्यक्रममा युवालक्षित विभिन्न कार्यक्रम ल्याएको जानकारी दिए ।

कतिपय युवालाई नीति तथा कार्यक्रमअनुसारको कार्यक्रमले सम्बोधन गरिने मल्लको भनाइ छ । गाउँपालिकाले कृषि तथा पशुपालनतर्फका कार्यक्रमबाट पनि अनुदान दिने कार्यक्रम तय गरेको उनले बताए ।

गाउँपालिकाले बाँझो रहेको जमिन भाडामा लिएर तरकारी तथा फलफूल खेती विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गरेको छ । यसका लागि गाउँपालिकाले सबै वडामा बाँझो रहेको र सार्वजनिक जग्गा कब्जा गरिएको बारेमा खोजी गर्न सुरु गरेको छ ।

प्रतिक्रिया