सुपर प्लसको दोस्रो अडिसन

काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गर्दै आएको ‘सुपर प्लस साइज मोडल २०२१’ को दोस्रो अडिसन १० माघमा हुने भएको छ । ‘अल साइज इज ब्युटिफुल’ भन्ने नाराका साथ आयोजनामा आएको सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो । तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिबार सम्पन्न भएको थियो ।

बागबजारस्थित बर्गर हाउसमा आयोजित अडिसनमा कुल २६ जनाले सहभागिता जनाएका थिए । जसमध्ये उक्त अडिसनबाट कुल ९ जना फिनालेका लागि छनोटमा भएको आयोजकले जनाएको छ । टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दीपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतो सम्मिलित निर्णायक मण्डलले प्रतिस्पर्धी छनोट गरेको हो । मोडल सङ्स नेपाल दोस्रो अडिसनबाट थप मोडलहरु छनोट गर्दै प्रशिक्षणमा सहभागी गराउने अन्तिम तयारीमा छ । उनीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिने छन् । प्रशिक्षणपश्चात सहभागीबीच प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताका बिजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता ‘वल्र्ड टप प्लस साइज २०२१’ मा सहभागिता जनाउन पाउने कम्पनीका प्रमुख डेभिल सिंह राजपुतले बताए । उत्कृष्ट तीन रनरअपले विभिन्न उपहारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेसन सो तथा सौन्दर्य प्रतियोगितामा समावेश हुने अवसर प्राप्त गर्ने राजपुतले जानकारी दिए ।

राजपुतले भने, ‘प्लस साइज (मोटोपना) का कारण हिनताबोध भएका युवतीलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’
प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती र महिलाले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाका लागि मिस्टर प्लस साइज नेपालको आयोजनासमेत गर्दै आएको छ ।

प्रतिक्रिया