खोजखबर

वाग्मती सफाइ महाअभियान

पूर्णप्रसाद मिश्र २०७७ माघ १ गते ६:२६ मा प्रकाशित

‘मेरो वासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिकस्थल वरिपरि तथा नदीनाला सफा राख्छु । वाग्मती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु’ । प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा वाग्मती नदी किनारमा उपस्थित भएर सफाइ अभियानकर्मीले उल्लिखित शपथ लिएसँगै वाग्मती सफाइ महाअभियान सुरु हुन्छ । यसरी सफा गर्न थालिएको पनि शनिबार चार सय हप्ता पुगेको छ । ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नाराका साथ ४००आँै हप्ता मनाइएको छ । यतिञ्जेलको सफाइले वाग्मती नदी देखिने गरी सफा नबने पनि यसले देशव्यापी रूपमा सफाइ जागरण भने फैल्याएको छ । हाल राजधानीमा वाग्मतीका सहायक नदीसँगै चक्रपथ, सम्पदास्थल एवं उपत्यका बाहिर पनि मुख्य सहर, नदी एवं सांस्कृतिकस्थल गरी १ सय ६ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

२०७० साल जेठ ५ गतेदेखि तत्कालीन मुख्यसचवि लीलामणि पौडेलको अग्रसरतामा पशुपति क्षेत्रबाट वाग्मती सफाइ महाअभियान सुरु भएको हो । हालसम्म सफाइबाट २० हजार मेट्रिक टन फोहर नदीबाट निकाली व्यवस्थापन गरिएको छ । काठमाडौं महानगरपालिकालगायत स्थानीय तहले फोहर व्यवस्थापन गर्ने गरेका छन् । फोहर व्यवस्थापन गर्ने क्रममा गाडीमा राख्दा नाप गरिएका आधारमा २० हजार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

सफाइ महाअभियानमा १० लाख स्वयंसेवीले काम गरे । वाग्मती सफाइ महाअभियानको उत्प्रेरणाले उपत्यकामा रुद्रमती, विष्णुमती, इक्षुमती, मनोहरा, हनुमन्ते, कोड्कु, गोदावरी, बल्खुखोला, गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागलगायत स्थानमा सफाइ अभियान चलेको अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य एवं नियमित सफाइ अभियानकर्मी माला खरेलले बताइन् । उनी भन्छिन्, ‘यी सबै सफाइ अभियानको प्रेरणाको स्रोत वाग्मती सफाइ महाअभियान नै हो ।’

यसैगरी उपत्यका बाहिर पनौती, जनकपुर, सिराहा, लाहान, झापा, पोखरा, बुटवल, तिनाउ, दाङलगायत गरी देशभर १ सय ६ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । महाअभियान सुरु भएपछि यी सबै स्थानमा सफाइ अभियान सुरु गर्ने प्रेरणा मिलेको हो । अभियानले फोहरको स्रोतमै वर्गीकरण गर्न, कुहिने फोहरबाट बायो कम्पोस्ट मल र बायोग्यास उत्पादन गर्न सहजीकरण गरेको छ स कुहिने फोहरलाई मल बनाएर कौशीखेती गर्न पनि अधिकार सम्पन्न वाग्मतीले उपत्यकावासीलाई प्रोत्साहन गरिरहेको छ । हालसम्म सामुदायिक संस्थाको सहयोगमा करिब पाँच हजार कम्पोस्ट बिन कौसीखेतीलाई प्रोत्साहन गर्न वितरण गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले बताए । उपत्यका बाहिर पनि फोहरको स्रोतमै वर्गीकरणलगायत विधि अपनाउन सुरु भएको छ । फोहर व्यवस्थापनको यो विधि देशव्यापी बन्दैछ ।

महाअभियानले मृतप्राय वाग्मती र यसका सहायक नदीलाई पुनर्जीवन दिएको अभियानकर्मी एवं पूर्व मुख्यसचिव पौडेलले बताए । ‘महाअभियानको मुल उद्देश्य विशुद्ध स्वयंसेवी भावना र स्वाभिमानको विकास गराउने हो, हामी हाम्रो काम आफैँ गर्न सक्छौँ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निस्वार्थ समर्पण हुने युवा जनशक्तिको विकास गर्न पनि महाअभियानले सहयोग गरेको छ, यसलाई सभ्य समाज निर्माण र राष्ट्रिय स्वाभिमानको महाअभियानका रूपमा लिइएको छु’ उनले भने ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट हुन्छ । योस्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक सीमामा पर्दछ । नृसिंहले हिरण्यकशिपुलाई मारेपछि यसै पर्वतमा आएर मृगको ईन्द्रसमान (सिंह) रुपको शिर धारण गरी विचरण गरेकाले मृगेन्द्र शिखर नामकरण भएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । वाग्मती उत्पत्ति भएकाले यो स्थानलाई वाग्द्वार भनिन्छ । यहाँ भक्त प्रल्हादले एक हजार वर्षसम्म भगवान शिवजीको तपस्या गरेको बताइन्छ ।

तपस्याबाट शिव अति प्रसन्न भई हासो प्रकट भयो । भगवान् शिवको अट्टहासले मुखबाट थुकका छिटा निस्कँदा वाग्मती प्रकट भएको किंबदन्ती विभिन्न पुराणमा उल्लेख गरिएको छ । शिवको मुखबाट उत्पत्ति भएकाले वाग्मतीलाई शिवगङ्गा र ब्रह्मसरस्वती पनि भनिन्छ । शिवपुरीको उत्तर मुखबाट वाग्मती र दक्षिण मुखबाट विष्णुमती प्रकट भइन् । यही शिखरको पूर्व दक्षिणतिरबाट रुद्रमती (धोबीखोला) को उत्पत्ति भएको छ । मणिचुड पर्वत (बज्रयोगिनीको डाँडो) बाट मणिमति (मनोहरा) उत्पन्न भएको छ । साथै उपत्यकाको विभिन्न स्थानबाट इक्षुमती (टुकुचा), हनुमती –हनुमन्ते), भद्रमती (भातेखुशी) र प्रभावती –नख्खुखोला) वाग्मतीमा मिसिन्छन् । वाग्मतीमा मिसिने यी सात नदीको समूहलाई सप्तमती पनि भन्ने गरिएको ‘वाग्मती काठमाडौँ सभ्यताको मुहान’ पुस्तकका लेखक एवं नेपाल सरकारका पूर्व सचिव विष्णुगोपाल रिसालले बताए ।

यसबाहेकका कोट्कुखोला, महादेवखोला, बल्खु खोला, गोदावरी खोला, चन्द्रमती, सुर्यमती, स्यालमती, नागमतीलगायत धेरै सानातिना खोला पनि सिधँै वा सहायक नदी हुँदै वाग्मतीमा मिसिन्छन् । हिमालयको काखबाट निस्केकी वाग्मती भागीरथी (गङ्गा) भन्दा सयौँ गुणा पवित्र छिन्् भनी बराहपुराणमा उल्लेख गरिएको छ ।

पशुपति पुराणमा भनिएको छ ।
पशुपतिसमं लिङ्गं वाग्वत्या च समा नदी ।
गुह्येश्वरीसमं पीठं नास्ति ब्रह्माण्डमण्डले ।।
अर्थात् पशुपतिको समान लिङ्ग, वाग्मतीको समान नदी र गुह्येश्वरीको समान पीठ ब्रह्माण्डमा अरु छैनन् । स्कन्दपुराण नेपाल माहात्म्यको हिमवत्खण्डमा वाग्मतीको महत्व बढाउनको लागि मनोहराको सङ्गम (दोभान) मा रहेको रुद्रधारा तीर्थले ठूलो भूमिका खेलेको उल्लेख छ ।

शास्त्रीय मान्यताअनुसार विष्णुमतीको सङ्गम टेकुदोभान र नख्खुखोला (प्रभावती) सङ्गमको पनि ठुलो गुणगान छ । वाग्मती र नख्खुखोलाको सङ्गममा चैत्र शुक्ल अष्टमीका दिन आदिनाथलाई स्नान गराइन्छ । वाग्द्वार, सुर्यमती र चन्द्रमती खोला मिसिने गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित हत्यामोचनघाटमा वैशाख संक्रान्ति र गङ्गा दशहरा पर्वका दिन मेला लाग्छ । त्यसबेलामा गुह्येश्वरी, पशुपति, शङ्खमुल, टेकुदोभान, नख्खुदोभान र कटुवालदहलगायत स्थानमासमेत स्नान मेला लाग्ने गर्दथ्यो । सूर्य ग्रहण र चन्द्र ग्रहणका समयमा नदी किनारमा स्नान गर्नेको भीड नै लाग्थ्यो । वाग्मती प्रदूषित भएपछि यो संस्कृति क्रमशः लोप हुने अवस्थामा पुगेको छ ।

नेपाल माहात्म्यअनुसार वाग्मती तीर्थयात्रा गर्ने चलन छ । यो तीर्थयात्राको क्रम कटुवालदहबाट सुरु हुन्छ । महिना दिन लगाएर वाग्मती किनारका तीर्थहरू सेतुबन्ध, वासुकी, दुर्गा, व्याघ्र, प्रभावती र वाग्मती दोभानको प्रमोद तीर्थ बल्ख’ दोभानमा ईन्द्रतीर्थ, टेक’ दोभानमा पञ्चनदी तीर्थ, टुकुचा दोभानमा कालमोचन तीर्थ, रुद्रमती दोभानमा सहोदर तीर्थ, मनोहरा दोभान शंखमुलमा रुद्रधारा तीर्थ हुँदै वाग्द्वारमा ब्रह्मसरस्वती तीर्थको नामले तीर्थ स्नान गर्ने परम्परा पनि लामो समय नदी प्रदूषित भएकै कारण हुनसकेन ।

पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा ०७५ वैशाखदेखि वाग्मती तीर्थयात्राले छोटो रूपमा भए पनि पुनर्जीवन पाएको छ । नदीमा शुद्ध जल प्रवाहित हुँदा पानीमै टेकेर गरिने यात्रा अहिले नदी किनारमा हिँडेर गर्न थालिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । वैशाख महिनामा गरिने तीर्थयात्रा २०७७ वैशाखमा भने कोरोना महामारीका कारण स्थगित गरियो ।

रोगले ग्रस्त भएका, प्राण गलामा अड््किराखेका, जस्तोसुकै पापी मुर्ख पनि आफ्ना दुबै गोडा वाग्मतीको पानी चोपी ब्रह्मनालमा सुतेर प्राण छोडे योग साधनाद्वारा मात्र पुगिने शिवको गति प्राप्त हुन्छ भन्ने नेपालमाहात्म्यमा बताइएको छ । बराहपुराणमा वाग्मतीमा स्नान गरी शुद्ध हुने मानिसले मरेपछि पशुपक्षी भई जन्मनुनपर्ने र स्नान गर्नेको कुल पनि समृद्ध हुने उल्लेख छ ।

उपत्यकाको सभ्यताको स्रोत मानिने वाग्मती नदीमा फोहर फाल्ने तर वाग्मती नदीमाथिको पुल एवं नजिकबाट यात्रा गर्दा ढोग्ने प्रवृत्तिले नदी फोहर बन्दै गएको हो । ०३० सालपछि वाग्मतीमा फोहर फाल्ने प्रवृत्ति बढ्दा ढलमतीमा परिणत भयो । यसलाई सफा गर्ने महाअभियान ४० वर्षपछि ०७० जेठ ५ गते सुरु गरियो । यसअघि कृष्णदास मानन्धर र हुतराम वैद्यले एक्लाएक्लै भए पनि वाग्मती सफाइ सुरु गरी जागरण थालेका थिए ।

नाममै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति राखिएको सरकारी निकायलाई अधिकार भने केही नदिइएको पूर्व कार्यकारी अध्यक्ष र आयोजना प्रमुखको गुनासो छ । समिति स्थापना भएको २६ वर्ष प्रवेश गर्न लागे पनि गठन आदेशकै भरमा काम चलाउनु पर्दा जिम्मेवारी पूरा गर्न नसकिएको समितिका पूर्वअध्यक्ष नरेन्द्रराज बस्नेत स्वीकार्छन् ।

सहरी विकासमन्त्री र सचिवको पटकपटक ध्यानाकर्षण गराउँदा पनि समितिको विधेयक तयार हुन नसकेको उनले बताए । ‘कार्यालयको नाम अधिकार सम्पन्न वाग्मती छ, नदीमा फोहर फाल्नेलाई कुनै कानुनी कारवाहीको दायरामा ल्याउने अधिकार दिइएको छैन, समितिको ऐन नबन्दा कर्मचारीको वृत्तिविकासको काम हुनसकेको छैन,’ बस्नेतले भने ।
पूर्व आयोजना प्रमुख लीलाप्रसाद ढकाल समितिसँग अधिकार नभएकैले सुकुम्वासीका नाममा नदीको किनार अतिक्रमण गरी बसेकालाई कानुनी कारवाहीको दायरामा ल्याउन नसकेको बताउँछन् । ‘नदी किनारमा सुकुम्बासी थुपारेर वाग्मती कहिल्यै सफा हुँदैन, वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न अध्ययन भएको छ, सुकुम्बासीका नाममा नदी किनारमा टहरा बनाइ भाडामा लगाउनेकोे संख्या धेरै छ’ उनले भने । इचंगुनारायणमा निर्माण भएको आवासमा समेत सुकुम्बासी नगएर नदी किनार कब्जामै लिइरहँदा वाग्मती सौन्दर्यकरण, कोरिडोर निर्माणलगायत पूर्वाधार विकासका काममा अवरोध भइरहेको समितिले जनाएको छ ।

०५१ चैत २८ गते पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समितिका नाममा अधिकार सम्पन्न वाग्मतीको स्थापना भएको थियो । यसको नाम मन्त्रिपरिषद्को ०५२ मंसिर ६ गतेको निर्णयअनुसार शिवपुरी जलाधारदेखि चोभारसम्मको बृहत् क्षेत्रलाई समेट्ने गरी अधिकार सम्पन्न वाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिको रूपमा पुनर्गठन गरियो ।

समितिलाई अझै सशक्त बनाउने भन्दै ०६५ जेठ २६ गते मन्त्रिपरिषद्ले हालको नाम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा रूपान्तरण गरेको हो । सरकारले समिति गठन आदेश ०७३ जारी गरी त्यसै अनुसार हाल कार्यान्वयनमा छ । गठन आदेशको प्रस्तावनामा वाग्मती नदी र यसका सहायक नदीहरूको उद्गमस्थलदेखि कटुवाल दहसम्मको नदी प्रणाली प्रदूषणमुक्त गराई संरक्षण र सम्वद्र्धन गरी उपत्यकाको वातावरणीय स्वच्छता, पवित्रता र सुन्दरता कायम गर्ने, नदी प्रणालीसँग सम्बद्ध ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, समग्र वाग्मती सभ्यताको पहिचान एवं जगेर्ना गर्नुका साथै एकीकृत जलस्रोत व्यवस्थापन तथा अन्य प्राकृतिक स्रोतको समुचित व्यवस्थापन गर्ने उद्देश्यले समिति गठन भएको उल्लेख छ । समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना गठन आदेश बमोजिम विधेयक मस्यौदा भई छलफलको चरणमा रहेको बताउँछन् । छिटो विधेयक पारित भई समिति ऐन बन्ने उनको विश्वास छ ।

विश्वमै लामो अभियान मानिएको वाग्मती सफाइ महाअभियानलाई दुई अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त भएको छ । सन् २०१५ मा ‘युएन ह्याबिट्याट एसियन टाउनसिप अवार्ड्स्’ पाएको छ । एक करोड रुपैयाँ राशिको यो पुरस्कारको सम्मान लिए पनि वाग्मतीले नगद भने लिएन । वाग्मती सफाइ महाअभियान स्वयंसेवी महाअभियान भएकाले सम्मान लिएर नगद नलिएको सफाइ अभियानकर्मी गोविन्द काफ्लेले बताए । तीन वर्षअघि अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनको समापनका अवसरमा भगीरथ पुरस्कारले सम्मान गरिएको थियो । दुवै पुरस्कार महाअभियानका तर्फबाट सफाइ अभियानकर्मी डा. राजु अधिकारीले ग्रहण गरेका हुन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय