चालु खाता पुनः घाटामा

काठमाडौं । चालु खाता पुनः घाटामा गएको छ । चालु आर्थिक बर्षको साउन देखी कार्तिक सम्म बचतमा रहेको चालु खाता मंसिरमा पुनः घाटामा गएको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मंसिर सम्मको प्रतिवेदनमा चालु खाता घाटा २१ अर्ब ३२ करोड रुपैयाँ पुगेको उल्लेख छ । यद्यपी यो घाटा अघिल्लो बर्षको तुलनामा केही कम हो । चालु खाता देशभित्र आउने कुल विदेशी मुद्रा र वाहिरिने मुद्राबीचको अन्तर हो । बढि भित्रिए चालु खाता बचतमा हुन्छ, बढि बाहिरिए घाटा हुन्छ । देश चार महिनापछि चालु खाता घाटाको अवस्थामा पुगेको हो । यो सगै बाह्य कारोबारबाट तरलता प्रवाह घट्न थालेपछि शोधनान्तर बचत घटेको छ । पछिल्लो चार महिनासम्म बढ्दै गएको शोधनान्तर बचत मंसिरमा घटेको हो । मंसिरमा शोधनान्तर बचत ४ अर्ब रुपैयाँले बचत घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

रेमिट्यान्स आप्रवाह वृद्धिदर घट्दै गएपछि त्यसको प्रभाव शोधनान्तर स्थितीमा परेको हो । मुलुकमा भित्रिने रकम कम भएपछि शोधनान्तर बचत घट्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत कात्तिकसम्म शोधनान्तर स्थिती १ खर्ब १० अर्ब रुपैयाँ बचतमा थियो । यो असोजसम्ममा १ खर्ब १ अर्ब रुपैयाँ थियो । तर, मंसिरमा शोधनान्तर बचत घटेको हो । असोजसम्म १२.६ प्रतिशतसम्मले बढेको रेमिट्यान्स आप्रवाहको वृद्धिदर घट्दै गएको छ । कात्तिकसम्म ११ प्रतिशतले बढेको रेमिट्यान्सको आप्रवाह मंसिरसम्ममा १० प्रतिशतमा सीमीत हुन पुगेको हो ।

पाँच महिनामा वैदेशिक लगानीमा समेत कमी आएको छ । मंसिरसम्ममा प्रत्येक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ६ अर्ब ५७ करोड रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको थियो । तर, यो आवमा वैदिशक लगानी चार अर्ब ५० करोड रुपैयाँ मात्रै भित्रिएको छ । यो आर्थिक वर्षको सुरुवातदेखि प्रत्येक्ष वैदेशिक लगानीमा कमी आइरहेको छ । पोहोरको तुलनामा वैदिशक लगानीको ह्रासदर पनि बढ्दै गइरहेको छ । असोजसम्म २६ प्रतिशत मात्रै रहेको गिरावट दर मंसिरसम्म बढेर ३१.५ प्रतिशत पुगेको हो ।

गत आर्थिक वर्षको तुलनामा आयात घटिरेको छ । चालु आवको पहिलो दुई महिनाको आयातमा उच्च दरले गिरावट आएपनि आयात दर क्रमशः बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षका महिनाहरूको तुलनामा यो आवमा आयातमा आइरहेको गिरावट दर क्रमशः घटिरहेको तथ्यांकले देखाउँछ । भदौमा २२.१ प्रतिशतको दरमा घटिरहेको आयात असोजमा आइपुग्दा यो दर घटेर १२.७ प्रतिशत पुग्यो । कात्तिकसम्ममा यो दर अझै घट्यो । १०.६ प्रतिशतको दरले घट्यो आयात । मंसिरसम्ममा त झन् यो दर ९.६ प्रतिशतमा सीमीत भएको छ ।

अघिल्लो आर्थिक वर्षको पाँच महिनामा आयातको गिरावट ४.२ प्रतिशत थियो । यस अवधिमा निर्यातको वृद्धिदर पनि घटेको छ । सुरुवाती दुई महिनामा १०.५ प्रतिशतले वृद्धि भएको निर्यात असोजसम्ममा यो दर १४.६ प्रतिशतसम्म पुग्यो । तर, कात्तिकमा आइपुग्दा यो १०.८ प्रतिशतमा खुम्चियो । मंसिरमा त यो वृद्धिदर ५.१ प्रतिशतमा सीमीत भयो । पाँच महिनामा निर्यात ५० अर्ब ६ करोड रुपैयाँ मात्रै निर्यात भएको छ ।

यो अवधिमा विदेशी विनिमय सञ्चिती पनि घट्न थालेको छ । चालु आर्थिक वर्षमा थुप्रिँदै गएको विनिमय सञ्चिति कात्तिक मसान्तमा १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । यो १५ महिनाभन्दा बढी आयात बराबर थियो । मंसिरमा विनिमय सञ्चितिमा घटेको छ । अघिल्लो महिनाको तुलनामा विदेशी विनिमय सञ्चिति १४ खर्ब रुपैयाँ पुगेको छ । पाँच महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १४ महिनाभन्दा बढी आयात धान्न पुग्ने रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो अवधिमा यो वर्षकै कम मूल्यवृद्धि रहेको सो प्रतिवेदनमा उल्लेख छ । कात्तिक महिनामा ४.०५ प्रतिशत थियो । मंसीरमा उपभोक्ता मुद्रास्फिति २.९३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फिति ६.५५ प्रतिशत थियो । खाद्य वस्तुको भन्दा पनि गैर खाद्य तथा सेवा समूहको मुद्रास्फितिमा कमी आएसँगै समग्र मुद्रास्फिति घटेको हो ।

प्रतिक्रिया