पिपल्स च्वाइस अवार्ड अरुणालाई

काठमाडौं । भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइस अवार्ड जितेकी छिन्। सातदोबाटोमा आज भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइज विधामा अवार्ड जितेकी हुन् । कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन् । अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गर्दा मन्देकाजी श्रेष्ठ २८.४५७ प्रतिशत भोटसहित दोस्रो स्थानमा रहे । तेस्रो स्थानमा सदिना १३.४९९, चोथोमा गौरिका १३.३०९ तथा पाँचौमा सावित्रा ७.२१८ प्रतिशत मत प्राप्त गरे ।

एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा कप्तान अरुणा थिइन् । उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो । त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुगेको थियो। भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो ।

अरुणालाई जिताऔं भन्दै पोखरामा न्यु डायमण्डसँग एपीएफको मैत्रीपूर्ण खेल समेत खेलाइएको थियो । अरुणाले ईसेवाबाट १ लाख ९४ हजार ७ सय ४७ अर्थात २७.८४२ प्रतिशत मत पाईन् । यस्तै फेसबुक लाईकमा ९ हजार ५ सय २२ अर्थात ४.४७९ मत पाइन् । प्रशिक्षकबाट २.७०४ र आयोजक मञ्चका सदस्यबाट २.५०० प्रतिशत मत प्राप्त गरिन् ।
यस्तै मन्डेकाजीले ईसेवाबाट १ लाख ६ हजार ६ सय ७२ अर्थात १५.२५० प्रतिशत मत पाए । फेसबुक लाईकमा १६ हजार ३ सय २८ अर्थात ७.६८० प्रतिशत मत पाए । मुख्य प्रशिक्षकबाट ३.०५३ र मञ्चका सदस्यबाट २.४७४ प्रतिशत गरि कुल २८.४५७ प्रतिशत मत पाउदै दोस्रो स्थानमा रहे ।

आयशा र सन्तोषीलाई स्पेशल
काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित भएका छन् । मञ्चले गत वर्ष गरेको प्रदर्शनको आधारमा उनीहरुलाई स्पेशल अवार्ड प्रदान गरेको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् । यस्तै उनले आठौं बृहत राष्ट्रिय खेलकुदमा कास्य जितेकी थिइन् ।

यस्तै सन्तोषीले १३औं सागमा १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई १ मिलिसेकेन्डले पछि पार्दै स्वर्ण जितेकी थिइन् । साग इतिहासमा एथलेटिक्सबाट स्वर्ण पदक जित्ने सन्तोषी पहिलो नेपाली हुन् । सन्तोषीले आठौं खेलकुदमा ५ हजारमा स्वर्ण, १५ सयमा रजत र १० हजार मिटरमा कास्य जितेकी थिइन् । वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण र नेवा च्यारिटी धरान १० किमि रनमा स्वर्ण र कान्तिपुर हाफ म्याराथनमा रजत जितेकी थिइन् ।

प्रतिक्रिया