राजस्व छल्ने १० जना विरुद्ध मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली कर बिजक प्रयोग गरी ६५ करोड २८ लाख ५२ हजार ३ सय ८२ रुपियाँ राजश्व छली गर्ने १० जना बिरुद्ध मुद्दा दर्ता गरेको छ । सर्लाही धनकौल गाउँपालिका वडा नम्बर ६ बस्ने मुख्य कारोबारी प्रदीप साहसहित १० जना बिरुद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिएका छन ।

आरकेएम ट्रेडिङ प्रालि लगायत १३ वटा फर्म कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरी सबै फर्मको बैंक खाता सञ्चालन साहले गर्दै आएको अनुसन्धानबाट खुलेको थियो । विभिन्न फर्मको नाममा झटा तथा नक्कली बिक्री बिजक जारी गरी आव २०७३÷७४ देखि २०७५/७६ सम्म मूल्य अभिबृद्धि करतर्फ २२ करोड ४९ लाख ६९ हजार ८ सय १ रुपैयाँ, आयकर तर्फ ३७ करोड ५८ लाख ३६ हजार ८ सय ८९ रुपैयाँ र लाभांश करतर्फ ५ करोड २० लाख ४५ हजार ६ सय ९२ रुपैयाँ राजश्व चुहावट गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त १३ वटा फर्मको मुख्य कारोबारी साह सहित १३ वटै फर्मका सञ्चालक र संस्थापक समेत १० जनालाई राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ अनुसार जरिवाना र कैद सजायको माग दाबी सहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया