‘किम्फ’ सुरु

काठमाडौं । पर्वतीय जनजीवन, पर्वतारोहण एवं साहसिक क्रीडाकर्म समेटिएको ‘काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल (किम्फ)’ बिहीबारदेखि सुरु भएको छ । चार दिनसम्म चल्ने उक्त फेस्टिभल कोरोना संक्रमणका कारण पहिलोपल्ट भर्चुअल माध्यमबाट गरिएको जनाएको छ । किम्फका अध्यक्ष बसन्त थापाका अनुसार फेस्टिभलका लागि छनोट भएका सबै चलचित्र घरैबाट हेर्न सकिने छ । फेस्टिभलमा प्रदर्शन गरिने चलचित्रहरू भिमिओमा किम्फको वेबसाइटमार्फत हेर्न सकिन्छ । थापाले फेस्टिभलमा प्रदर्शन गरिने चलचित्र पाँच दिनसम्म वेबसाइटमा रहने जानकारी दिए । उनले भने, ‘फेस्टिभलमा प्रदर्शन गरिने चलचित्र हेर्दा दर्शकले कुनै पनि शुल्क तिर्नुपर्दैन ।’ चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा भएको उद्घाटन समारोहमा अध्यक्ष थापाले पहिलोपटक भर्चुअल फिल्म फेस्टिभल सुरु भएको घोषणा गरे । सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायम गर्दै भएको महोत्सव उद्घाटन गरिएको थियो ।

आयोजकका अनुसार फेस्टिभलमा यस वर्ष १५ देशका फिल्मकर्मीले सहभागिता जनाएका छन् । साथै १८ वटा चलचित्र प्रदर्शन गरिने यो फेस्टिभलमा नेपाल पानोरमा अन्तर्गत कथानक र वृत्तचित्र गरी १२ वटा चलचित्र पनि प्रदर्शन गरिने जनाइएको छ । नेपाल पानोरमामा ९ देखि २६ मिनेटका कथानक र वृत्तचित्र छन् । जसमा राजन कठेत निर्देशित ‘बेअर ट्र्ज इन द मिस्ट’, सजल लोप्चनको ‘अ सर्ट फिल्म गाइड फर नेपाली फेस्टिभल’, डायमन्ड उप्रेतीको ‘अ पेपर प्लेन’, सिकुमा राईको ‘अरक चाना बानाओ, सीम्मा’ (कम ओभर फर अ ड्रिंक कान्छी), सोनम शर्माको ‘मिसन एभरेष्ट द लिजेन्ड अफ शेर्पा जाङ्बु’, सोनाम छोएकी लामाको ‘द स्नो लियोपार्ड कलिङ’ लगायत छन् ।

किम्फको शुभारम्भ भुटानी चलचित्र निर्देशक खिन्चे नोर्बु रिम्पोचेको चलचित्र ‘लुकिङ अफर अ लेडी विथ फ्यांगस अ मुस्ट्याच’ को प्रदर्शनसँगै सुरु भएको छ । यो चलचित्रको छायांकन नेपालमा गरिएको थियो । फेस्टिभलमा हिमाली जनजीवनसँग सम्बन्धित चलचित्र एवं वृत्तचित्र प्रदर्शन गरिनेछ । त्यस्तै, विभिन्न देशका चलचित्रकर्मीले बनाएका चलचित्र भर्चुअल माध्यमबाट हेर्ने सक्नेछन् । यही सन्दर्भ पारेर विभिन्न देशका चलचित्रकर्मीबीच भर्चुअल बहस तथा छलफलसमेत गरिने आयोजकले जनाएको छ । महोत्सवको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार एवं फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन् । १८औँ संस्करणसम्म आइपुग्दा किम्फको सन्देश ‘तमसोमा ज्योतिर्गमय’ र अंग्रेजीमा ‘अगेन्स्ट डिस्पेयर, टुवार्डस् होप’ रहेको छ ।

त्यसैगरी दिवंगत लेखक पिटर जे कार्थको ‘नेपाली म्युजिकमेकर्स’ पुस्तकको नेपाली अनुवादसमेत सार्वजनिक गरिनेछ । त्यस्तै उक्त फेस्टिभलमा कोभिड–१९ र बन्दाबन्दीबारे बनेका वृत्तचित्रसमेत प्रदर्शन गरिनेछ । फेस्टिभलमा अन्तर्राष्ट्रिय र नेपाली पानोरमा अन्तर्गत छुट्टाछुट्टै चलचित्रबीच प्रतिस्पर्धा गराइनेछ । अन्तर्राष्ट्रिय चलचित्रमा पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ नगद प्रदान गरिनेछ । उत्कृष्ट नेपाली कथानक चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई क्रमशः एक लाख, ७५ हजार रुपैयाँ उपलब्ध गराइने आयोजकले जनाएको छ ।

महोत्सवमा अमेरिका, इरान, भारत, फ्रान्स, बेलायत, स्वीडेन लगायत १५ देशका १८ विदेशी र १२ नेपाली चलचित्र रहेका छन् । यसअघि ५० भन्दा बढी चलचित्र समेटिने किम्फमा यो ३० वटा मात्रै चलचित्र समावेश गरिएको छ । महोत्सव निर्देशक रम्यता लिम्बूले कोरोनाका कारण चलचित्रको संख्या घटाउनु परेको बताइन् । उनले भनिन्, ‘महोत्सव गर्ने कि नगर्ने भन्ने दुविधा पनि भएको थियो । गर्दै नगर्नुभन्दा फिल्म संख्या घटाएर निरन्तरता दिएका छौं ।’ निर्देशक रम्यताले नेपाल पानोरमा किम्फको महोत्सवको मुख्य आकर्षण रहेको जिकिर गरिन् । उनले भनिन्, ‘नयाँ पुस्ताका फिल्ममेकर जन्माउन महत्वपूर्ण भूमिका खेलेको छ ।’

प्रतिक्रिया